एलिना चौहानले गरिन सम्बन्धविच्छेद
![](https://paschimtoday.com/uploads/news/images/Capture2025-02-11-05-12-19.png)
काठमाडौं । गायिका एलिना चौहान र उनका श्रीमान विष्णु सापकोटाबीच कानुनीरूपमै सम्बन्धविच्छेद भएको छ।
मंगलबार काठमाडौं जिल्ला अदालतमा उनीहरुबीच सम्बन्धविच्छेदको मुद्दा टुंगो लागेको हो।
न्यायाधीश मोना सिंहको इजलासमा अंश र मानाचामल नलिने गरी सम्बन्धविच्छेदको फैसला गरेको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए।
गायिका एलिनाले माघ दोस्रो साता सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन्।
झापाकी एलिना र बागलुङका विष्णुबीच गत वैशाखमा विवाह भएको थियो।
सम्बन्धविच्छेदको मुद्दा टुंगो लागेपछि एलिनाले विष्णुलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन्।
उनले भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेको बताएकी छन्। जुन नहुँदा आफूहरूको सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको उनको भनाइ छ।
एलिना लेख्छिन्,–
प्रिय विष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरू अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। तिमीलाई बाँकी जीवनको धेरै–धेरै शुभकामना विष्णु।
तपाईको प्रतिक्रिया