बझाङको साईपालमा एभरेष्ट बैंकको शाखा उद्घाटन

गभर्नर अधिकारीले भने, बैकिङ ईतिहासमा यो महत्वपूर्ण अवसर

सोमबार माघ २८, २०८१/ Monday 02-10-25
Paschim Today

धनगढी, २८ माघ ।
बैकिङ सुविधाबाट बञ्चित देशको एक मात्र गाँउपालिका बझाङको साईपालमा सोमवार एभरेष्ट बैंकको शाखा उद्घाटन भएको छ । योसंगै मुलुकका ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । दुई वर्षअघि नै ७५२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना भएपनि साईपाल गाउँपालिकामा भने हुन सकेको थिएन् ।

एभरेष्ट बैंकको शाखा उद्घाटन गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद प्रमुख अतिथिका रुपमा हेलिकप्टरमा साईपाल पुगे ।

सोमवार विहान साईपालको धलौनमा एभरेष्ट बैंकको शाखा उद्घाटन गर्दै गभर्नर अधिकारीले साईपालमा एभरेष्ट बैंकको शाखा स्थापनाको घडीलाई ऐतिहासिक अवसरका रुपमा लिएको   बताए ।

यो मेरा लागि र साईपालका जनताका लागि ऐतिहासिक अवसर हो, गभर्नर अधिकारीले भने, साईपालमा बैंकको शाखा स्थापनासंगै नेपालका विकट स्थानहरूमा वित्तीय पहूँच विस्तार गर्ने सरकारको लक्ष्य पुरा भएको छ । 

गभर्नर अधिकारीले स्थानीय नागरिकहरूलाई खाता खोलेर बैंक मार्फत कारोवार गर्न आग्रह गरे । 
एभरेष्ट बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्यले देशकै विकट र बैकिङ सुविधाबाट बञ्चित साईपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा स्थापना गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे ।

अध्यक्ष बैद्यले साईपालमा शाखा सञ्चालन गर्नु चुनौतीपूर्ण भएपनि त्यो चुनौती स्वीकार गर्दै एभरेष्ट बैंकले शाखा स्थापना गरेको बताए ।

‘यो मेरो र एभरेष्ट बैंकका लागि महत्वपूर्ण अवसर हो’, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, ‘जहाँ कुनै बैंकले सेवा विस्तार गर्न सकेको थिएन, त्यहाँ एभरेष्ट बैंक पुगेको छ । यो हाम्रा लागि गर्वको कुरा हो ।’

उनले बैंकको शाखाको उद्घाटनमा सहभागी भएकोमा गभर्नर अधिकारी लगायत, सम्पूर्ण अतिथि र स्थानीय बासिन्दालाई धन्यवाद दिए ।

साईपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बैंकको शाखा स्थापना गरेकोमा एभरेष्ट बैंकका अध्यक्ष र गभर्नरलाई धन्यवाद दिए ।

अध्यक्ष बोहराले एभरेष्ट बैंकको शाखा स्थापनाले साईपालका जनताको आर्थिक विकास र समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।  

कार्यक्रममा साईपाल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष नरेन्द्र धामी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रमुख अतिथि गभर्नर अधिकारी र एभरेष्ट बैंकको टीमलाई स्थानीय बासिन्दाले बाजागाजा, मागल, सगुन सहित स्वागत गरेका थिए । धलौन माविका विद्यार्थीहरुले मौलिक पोशाकमा शाखा उद्घाटन कार्यक्रममा देउडा सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा छ सय भन्दा बढि स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

सडक सञ्जालमा नजोडिएको देशकै दुर्गम साईपाल गाउँपालिका चीनको स्वशासित प्रान्त तिब्बतको नजिकको हिमाली पालिका हो । सुदूर पश्चिममा एभरेष्ट बैंकको यो १४ औं शाखा हो । देशभरी १३१ शाखा रहेका छन् । 

राष्ट्र बैंक धनगढीका प्रमुख केशव बहादुर केसी, एभरेष्ट बैंक प्रादेशिक कार्यालय धनगढीका प्रमुख उज्वल पोखरेल लगायतको टीम बझाङको तल्कोटबाट झण्डै एक दिनको पैदल यात्रा गरी साईपालको धलौन पुगेको थियो । काठमाण्डौंबाट आएको गभर्नर सहितको टीम सुर्खेतबाट आज बिहान हेलिकप्टरमा साईपाल पुगेको हो ।

बैंकको शाखा उद्घाट्नपछि गभर्नर अधिकारी सहितको टीम सुर्खेत हुदै काठमाण्डौं फर्किएको   छ ।