नयाँ प्रविधिको पहुँचमा डोटीका किसान, प्रतिस्पर्धी र व्यावसायिक कृषिमा जाेड
![](https://paschimtoday.com/uploads/news/images/doti2025-02-11-07-49-38.png)
डोटीको आदर्श गाउँपालिका- ४ देहीका अगुवा किसान रमेश नागरी अचेल गड्यौला मल उत्पादनमा सक्रिय छन् । लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका रमेशले पछिल्लो समय प्रांगारिक खेती गर्ने उद्देश्यले गड्यौला मल उत्पादनमा जोड दिएका छन् ।
रमेश जस्तै जिल्लाका अन्य किसानहरुले पनि गड्यौला मल उत्पादन सुरु गरेका छन् । गत वर्ष मेसिनको प्रयोग गरी चैते धान खेती गरेका शिखर नगरपालिका- २ कालागाडका किसानहरु यस पटक पनि मेसिनबाटै धान रोप्ने बताउँछन् ।
पछिल्लो समयमा कृषिमा नयाँ-नयाँ प्रविधि र उपकरणको प्रयोग बढ्दै गएको छ । कृषि उत्पादनमा वृद्धि गर्न र प्रांगारिक खेतीमा जोड दिने उद्देश्यका साथ नयाँ-नयाँ प्रविधि र उपकरणहरुको प्रयोग भइरहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थी बताउँछन् ।
उनले भने, ‘हामीले किसानहरुलाई अधिकसे अधिक प्रविधिको प्रयोग गर्न उत्साहित गरिरहेका छौं, जसले गर्दा परिश्रम पनि कम लाग्ने र उत्पादनमा पनि वृद्धि हुने हुन्छ ।’
उनले बेमौसमी तरकारी तथा फलफूल उत्पादन अहिलेको आवश्यकता रहेको बताए । ‘सिजनमा भारतबाट र नेपालकै तराईका क्षेत्रबाट एकदमै सस्तोमा तरकारी र फलफूल आयात हुन्छ, त्यतिवेला पहाडका किसानहरुले प्रतिस्पर्धा गर्न सक्ने अवस्था हुँदैन’, प्रमुख अवस्थी भन्छन्, ‘त्यसैले अब बेमौसमी तरकारी र फलफूल खेतीमा जोड दिनुपर्छ ।’
बेमौसमी काक्रा उत्पादन गर्ने उद्देश्यले शिखर नगरपालिकामा होचो टनेलभित्र विरुवा लगाउने कार्य सुरु भएको ज्ञान केन्द्रले जनाएको छ । यस्तै आलु, प्याज, लसुन, टमाटरलगायतका तरकारी तथा मसला बालीमा प्लास्टिक मल्चिङ प्रविधिको प्रयोग भइरहेको ज्ञान केन्द्रका प्रमुख अवस्थी बताउँछन् ।
‘हामीले पहिलो पटक प्याजमा मल्चिङ प्रविधिको प्रयोग गरेका छौं, यो परीक्षण पनि हो’, उनले भने, ‘अहिलेसम्म हेर्दा राम्रै भएको छ ।’
उनले मल्चिङ प्रविधिले माटोमा आद्रता रहिरहने, अनावश्यक झारपात पनि नआउने र गोडमेल तथा सिंचाइ गर्न पनि सहज हुने बताए ।
जिल्लाको बडीकेदार गाउँपालिका- १ बीपीनगरमा गड्यौला मलको प्रयोग गरी मेवाको बगैंचा निर्माण गरिएको छ । यस्तै ओखरका बोटहरुमा टप वर्किङ कार्यमार्फत हाडे ओखरलाई दाँते ओखर बनाउने प्रविधि सुरु गरिएको ज्ञान केन्द्रले जनायो ।
‘गत वर्ष टप वर्किङको कार्य अलि ढिलो भएको हुँदा त्यति सफलता प्राप्त हुन सकेन’, अवस्थीले भने, ‘यस वर्ष भने हामी बेलैमा टप वर्किङको कार्य गर्छौं ।’
सुदूरपश्चिमका पहाडी जिल्लामध्ये डोटीमा पहिलो पटक हरियो मल ढैचाको प्रयोग गरिएको ज्ञान केन्द्रको दाबी छ । जिल्लामा चक्लाबन्दीमा आलु र प्याज खेती सुरु गरिएको छ । किसानहरुलाई कृषि प्रविधिसम्बन्धी ज्ञान दिने उद्देश्यका साथ पालिकास्तरमा कृषि पाठशाला सञ्चालन भइरहेको ज्ञान केन्द्रले जनाएको छ ।
यस्तै कृषि प्रविधिको प्रयोग गरी ठूलो नमुना कृषि फाराम स्थापना गर्ने ज्ञान केन्द्रले लक्ष्य राखेको छ । किवीको नमुना फाराम बनाउने, कृषि उत्पादनको ब्राण्डिङ र बजारीकरणमा सहयोग गर्ने कार्यक्रम रहेको केन्द्रको भनाइ छ ।
जिल्लाको बोगटान फुड्सिल गाउँपालिका र बढीकेदार गाउँपालिका क्षेत्रको बाँझो जमिनमा सुन्तला खेती गर्ने कार्य सुरु गरेको र सायल गाउँपालिका क्षेत्रमा स्थानीय आलुको प्रवर्द्धन गर्ने कार्य भइरहेको ज्ञान केन्द्र प्रमुख अवस्थीले बताए ।
प्रविधिसँगै कृषिका लागि पूर्वाधार निर्माणमा पनि सहयोग भइरहेको उनी बताउँछन् ।
जिल्लाको शिखर नगरपालिका- २ मा व्यावसायिक कफी खेती गर्ने तयारी भइरहेको छ । ‘कफी खेतीका लागि नर्सरी स्थापना भइसकेको छ’ अवस्थीले भने ‘हामी शिखर नगरपालिकाबाटै कफी खेतीको सुरुवात गर्दैछौं, त्यसका लागि करिब ५०० बोट कफी नर्सरीमा हुर्कंदैछ ।’
जिल्लामा मुङ्ग खेतीको पनि प्रवल सम्भावना रहेको र उक्त खेती गर्दा यसले मलको समेत काम गर्ने उनले बताए ।
यस्ता छन् कृषि क्षेत्रका चुनौती
डोटीको कृषि क्षेत्रमा धेरै सम्भावना देखिरहेको कृषि ज्ञान केन्द्रले चुनौती पनि उत्तिकै औंल्याएको छ ।
मुख्य चुनौतीको रुपमा तीव्र बसाइसराइ रहेको ज्ञान केन्द्रका प्रमुख अवस्थी बताउँछन् । ‘बसाइसराइ गरेर जान्छन्, जमिन बाँझो हुन्छ’, अवस्थीले भने, ‘कृषकहरुले अहिले भोगिरहेको अर्को मुख्य समस्या जंगली जनावरको प्रकोप हो ।’
किसानहरुले मेहनत गर्न चाहेको भए पनि कृषि पूर्वाधारहरुको समस्याका कारण उनीहरुमा जाँगर नआएको ज्ञान केन्द्रको बुझाइ छ । सिंचाइ, बजारीकरण तथा प्रशोधन, रोगकीरा व्यवस्थापन, खुला सिमाना जस्ता कुराले डोटीको कृषिमा चुनौती थपिएको केन्द्र प्रमुख अवस्थीको सुनाउँछन् ।
उनले कृषि क्षेत्रमा गौरवका योजनाहरु निर्माणको कमी, कृषि अनुदानको सही तरिकाले वितरण नहुनु र राजनीतिक प्रतिबद्धताको अभाव, कृषिमा दक्ष जनशक्तिको अभावलगायतका समस्या रहेको उनी बताउँछन् । अबको कृषि प्रतिस्पर्धी, व्यावसायिक, प्रविधिमैत्री, आधुनिक, उद्यमशील र नाफामुखी एवं नजितामुखी हुनुपर्ने अवस्थीको भनाइ छ ।
तपाईको प्रतिक्रिया