परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान

शुक्रबार फागुन २, २०८१/ Friday 02-14-25
Paschim Today

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार ओमान प्रस्थान गरेकी छन्। उनी फेब्रुअरी २० सम्म ओमानको राजधानी मस्कटमा आयोजना हुने ‘आठौँ इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएकी हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरूले उनलाई बिदाइ गरे।

ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको निमन्त्रणामा उक्त भ्रमणमा गएकी राणाले सम्मेलनमा ‘सामुद्रिक साझेदारीका नयाँ क्षितिज’ विषयमा नेपालका तर्फबाट धारणा राख्नेछिन्। साथै, उनले ‘ग्लोबल साउथ’ को आवाजलाई थप सशक्त बनाउने सम्बन्धी सत्रलाई पनि सम्बोधन गर्नेछिन्।

भ्रमणका क्रममा उनले ओमानका विदेशमन्त्री, ऊर्जा तथा खनिज मन्त्री लगायत सम्बन्धित निकायका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्। नेपाल–ओमान सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले आपसी सहयोगसम्बन्धी केही सम्झौताहरूमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ।

यसबाहेक, मन्त्री राणाले मस्कटमा गल्फ कोअपरेसन काउन्सिल (GCC) मा आबद्ध राष्ट्रहरूमा कार्यरत नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गर्नेछिन्।

उनको सचिवालयका अनुसार उनी फेब्रुअरी २० मा स्वदेश फर्किनेछिन्।