भ्रष्टाचारविरुद्धको अभियान सदन र सडकबाट निरन्तर अघि बढाउँछौं : प्रचण्ड

शनिबार फागुन ३, २०८१/ Saturday 02-15-25
Paschim Today

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र दमक नगर समिति झापाको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफूले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ सङ्कल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेण्डालाई लिएर देशब्यापी अभियान थालेको बताए ।

‘मैले सरकारको नेतृत्व गर्दा  भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक संकटबाट देशलाई मुक्त गरेर आर्थिक सुधारको वातावरण बनाउन जुन अभियान थालेको थिएँ, अब यो पार्टी र जनताको अभियान बनेको छ,’ उनले भने, ‘यो निरन्तर अघि बढ्ने छ ।’

अहिले एकथरि शक्तिहरु संविधान कमजोर बनाउनतिर लागिरहेको पनि बताए । ‘अहिलेका प्रधाननमन्त्री जतिबेला शक्ति पुग्नुहुन्छ, यो संविधान च्यात्न खोज्नुहुन्छ किनकि यो संविधान उहाँलाई मन परेको छैन । संघीयता र उत्पीडित समुदायले अधिकार पाएको उहाँलाई मन परेको छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘केही शक्तिहरु अहिले पनि कही न कही प्रतिगमन चाहन्छन् । हामी जनताको अधिकार अझै थप गर्नुपर्छ भन्ने पक्षमा छौं ।’

आफूले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीब्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।