राष्ट्रपति ट्रम्पद्वारा झण्डै १० हजार कर्मचारी बर्खास्त

शनिबार फागुन ३, २०८१/ Saturday 02-15-25
Paschim Today

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झण्डै १० हजार संघीय कर्मचारीलाई बर्खास्त गरेका छन् । शुक्रबारसम्म ट्रम्पले झण्डै १० हजार कर्मचारीलाई बर्खास्त गरेका हुन् । आन्तरिक मामिला, ऊर्जा, सैन्य मामिला, कृषि तथा मानव सेवामा लगायत दर्जनौ विभागमा कार्यरत कर्मचारीहरू बर्खास्त गरिएको रोयटर्सको समाचारमा उल्लेख छ ।

बर्खास्तीमा पर्नेहरुमा अधिकांश परीक्षणकालमै रहेका कर्मचारीहरू रहेको भनिएको छ । बोस्टनको अदालतले कर्मचारीलाई निस्कासन गर्ने ट्रम्पको योजनामा यसअघि नै बाटो खुला गरिदिएको थियो । अदालतले ट्रम्प प्रशासनलाई इच्छुक कर्मचारीहरूलाई राजीनामा गराउने प्रक्रिया पुनः सुरू गर्न भनेको थियो ।

ट्रम्प प्रशासनले यसअघि स्वेच्छिक राजीनामा गर्न भनेर संघीय कर्मचारीहरुलाई इमेल पठाएको थियो । स्वेच्छिक राजीनामा गर्दा आगामी सेप्टेम्बर महिनासम्म काम नगरी तलब दिइने आश्वासन पनि दिइएको थियो । अमेरिकामा २३ लाख संघीय कर्मचारी छन् ।