ओरालो यात्रामा नाउपा: संकटमा एकता, अवसरमा छिन्नभिन्न

शनिबार फागुन ३, २०८१/ Saturday 02-15-25
Paschim Today

कैलाली । दल दर्ताको एक महिनामै स्थानीय तहको निर्वाचनमा र त्यसको केही महिनापछि भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा कैलालीमा पहिलो दल बनेको  नागरिक उन्मुक्ति पार्टी अहिले ओरालो यात्रा छ ।

कैलालीमा १३ स्थानीय तह मध्ये चारको प्रमुख र तीन उपप्रमुखमा नाउपाका उम्मेदवार विजयी भएका थिए । कैलालीमा प्रतिनिधि सभा तर्फ ५ मा ३ र प्रदेश सभा तर्फ १० मा ५ प्रत्यक्ष निर्वाचन भएको नाउपाले बर्दियामा पनि प्रतिनिधि सभामा प्रत्यक्षमा १ र प्रदेश सभामा दुई उम्मेदवार जिताएको थियो ।

कैलाली र बर्दियामा २्२ जना र मधेशमा १ जना समानुपातिक सांसद छन् नाउपाको । सङ्घ र प्रदेशमा १६ सांसद र स्थानीय तहमा ९८ जनप्रतिनिधि सहित बलियो अवस्थामा उभिएको नाउपाले स्थापनाको चार वर्षमा भने आफ्नो साख बचाउन नसकेको विश्लेषण हुने गरेको छ ।

शनिवार नागरिक उन्मुक्ति पार्टी (नाउपा) स्थापना दिवस हो । २०७८ फागुन १३ गते निर्वाचन आयोगबाट नाउपाले दल दर्ताको प्रमाण पत्र बुझेको थियो । रेशम चौधरी नै अध्यक्ष रहनेगरि पार्टी स्थापनाको तयारी गरिए पनि टिकापुर घटनाको दोषि ठहर भएर कारागार चलान भएको हुँदा उनकी श्रीमती रञ्जिता चौधरी अध्यक्ष रहनेगरि पार्टी स्थापना भएको थियो ।

रेशम- रञ्जिता कै समन्वयमा र सहकार्यमा गठन भएको पार्टी ती दुबै जनाको विवाद र विमतिमा सङ्कटमा परेको हो । दम्पती विवादले प्रदेश र सघंमा कसैले मन्त्री पाए भने कोही मन्त्री बन्न पाएनन् । सुदूरपश्चिममा दम्पती विवादले नागरिक उन्मुक्ति पार्टीले पाएको मुख्यमन्त्रीको अवसर गुमायो ।

‘तीनै तहको निर्वाचनसम्म रेशम कारागारमै थिए भने रन्जिता मोर्चामा थिइन् । रेशमले कारागारबाटै निर्देशन दिन्थे ,रन्जिता सोही अनुसार रणनीति बनाउथिइन् । रेशमको आम माफी भएपछि शक्ति सङ्घर्ष चुलियो । पहिलो महाधिवेशनले त्यसलाई अझै बढवा दियो ’ नाउपाका एक नेताले भने, ‘बूढाबूढीको विवादले पार्टी धराशायी बन्यो ।’

२०८० जेठ १४ गते गणतन्त्र दिवसको अवसर पाएर रेशमले आम माफी पाएका थिए । त्यस अघिसम्म फोनमार्फत नेता कार्यकर्तासँग सम्पर्क रहेका रेशम त्यसपछि प्रत्यक्ष भेटघाटमा जुटे । संरक्षकको रुपमा रेशमलाई र अध्यक्षको रुपमा रन्जितालाई स्वीकार गरिरहेका केही कार्यकर्ताहरूले रेशमलाई नै कार्यकारी अध्यक्षको रुपमा देख्न चाहे । त्यहीबाट रेशम रन्जिताको शक्ति सङ्घर्ष सुरु भयो र पार्टीको तल्लो तहसम्म प्रभाव देखियो ।

पार्टी विवादले मुख्यमन्त्री गुम्यो

तत्कालीन एमाले, माओवादी र नेकपा एकीकृतसहितको सत्ता गठबन्धनमा नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने सहमति थियो । तर, त्यसका लागि सबै सांसद एक ठाउँमा उभिनुपर्ने सर्त पनि थियो ।

सुदूरपश्चिममा नाउपाका सात सांसद मध्ये ५ जना रेशम पक्षमा उभिएका थिए भने २ जना रन्जिता पक्षमा थिए । रेशम आफ्नो पक्षमा उभिएका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउने तयारीमा थिए ,कांग्रेससहितको सहकार्यमा । रन्जिता आफ्नो पक्षमा रहेका कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने तयारीमा थिइन् ।

दुवैले दाबी पेश गरे ,कांग्रेससहितको समर्थनमा नाउपा कै लक्ष्मण किशोर चौधरी र एमाले-माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरी । मुख्यमन्त्रीमा एउटै दलबाट दुई जनाको दाबी परेको र दुवैले आफूसँग सबै सांसद रहेको दाबी गरेपछि दुवैको उम्मेदवारी खारेज भएको थियो ।

त्यो बेला नाउपा एक ठाउँमा उभिएको भए नाउपाकै मुख्यमन्त्री निश्चित थियो । पार्टी भित्रको किचलोले नाउपाले पाउँदै गरेको मुख्यमन्त्री गुमायो ।

त्यो बेलासम्म नाउपामा गुटको चरम किचलो सुरु भइरहेको थियो । एक पक्षले अर्को पक्षलाई कारबाही गरिरहेको थियो । प्रदेशमा मात्रै होइन केन्द्रमा पनि यसको प्रभाव परिरहेको थियो । रन्जिताले प्रदेशमा संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाउँदा केन्द्रमा रेशम पक्षमा तीन सांसदले रन्जितालाई दलको नेताबाट हटाएका थिए ।

महाधिवेशनपछि थप किचलो

अघिल्लो वर्ष सम्पन्न भएको नाउपाको पहिलो महाधिवेशनले पार्टीलाई अझै बलियो र सुदृढ बनाउने अपेक्षा गरिएको थियो । तर, त्यसो भएन । महाधिवेशनमा नाउपाको केन्द्रीय अध्यक्षमै विवाद भयो । संरक्षक रेशम चौधरी नै अध्यक्ष हुने चाहना राखेपछि रन्जिता श्रेष्ठले महाधिवेशन स्थल नै छोडिन् ।

जन्मकैदको फैसला भएर आम माफी पाएका चौधरीलाई अध्यक्षमा आयोगले वैधता दिने सम्भावना क्षीण थियो । त्यस्तो बेला आफै अध्यक्षमा अघि सरेपछि पार्टी भित्र थप विवाद भएको केहीको बुझाइ छ । अन्ततः निर्वाचन चौधरीलाई वैधता दिएन ।

अहिले उनी मात्रै वैधानिक होइनन् कि महाधिवेशनबाट गठन गरिएको कमिटी नै अवैध हो भन्ने विवाद कायमै छ । दुबै समूहले आफू अनुकूल व्याख्या गर्दै आइरहेका छन् । उक्त विवादपछि अहिलेसम्म पनि केन्द्रीय समिति, प्रदेश र जिल्ला समितिहरू सक्रिय भएका छैनन् ।

समस्या कहाँ हो ? यस्तो छ दाबी
चार वर्षसम्मको उतरचडावले अहिले पार्टी नेतृत्व गरिरहेकाहरू नै पूर्ण सन्तुष्ट छैनन् ।कारागारभित्रै पार्टीको परिकल्पना गरिएको र त्यहि अनुसार अघि हिँड्दासम्म पार्टी सही स्थानमा रहेको तर, पार्टी भित्र स्वार्थ समूहहरू सक्रिय भएपछि समस्या सुरु भएको संरक्षक तथा पहिलो महाधिवेशनबाट अध्यक्ष भएका रेशम चौधरीको बुझाइ छ ।

‘परिकल्पनाकार र जन्मदाताको लक्ष्य बुझ्न नसक्नु विडम्बनाको विषय यो । पार्टीको नीति र सिद्धान्त बुझ्न नसक्नु विडम्बना हो ’ उनी भन्छन्, ‘हाम्रो पार्टीका केही साथी अन्य दलबाट सञ्चालित छन् । तिनलाई कारबाही गर्न सकिरहेका छैनौँ । ’

केही नेता कार्यकर्ताहरू अवसरमा पार्टीको नीतिभन्दा बाहिर गएको, आर्थिक प्रलोभनमा परेको जस्ता विषयहरूले पनि केही समस्या पैदा भएको उनको बुझाइ छ ।

आफ्नो निर्देशनलाई स्वीकार गरेर अगाडि बढ्दै गएको भए पार्टीमा अझै ऊर्जा थपिँदै जाने अवस्था हुने उनको भनाइ छ । पार्टी र आफ्नो भूमिकाकै कारण टिकापुरमा विमान उडाएको, टिकापुरलाई गुलाबको सहर बनाउन लागिरहेको र उद्योगी व्यवसायीहरूलाई भित्राउन पहल गरिरहेको उनी बताउँछन् ।

पार्टीलाई अझै बलियो र सुदृढ बनाउन सेके रावतको जनतम पार्टीसँग एकता गर्ने विषयमा पनि छलफल भइरहेको उनले बताए । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ पनि माग मुद्दा सम्बोधन गराउन आफूहरू सफल भएको बताउँछिन् ।

‘टिकापुर घटनाका नाममा बन्दी बनाइएकाहरूलाई रिहा गराउने हाम्रो पहिलो एजेन्डा थियो, हामी त्यसमा सफल भयौँ ’ उनी भन्छिन् ‘अझै पनि धेरैलाई झुट्टा मुद्दा लगाइएको छ त्यसको खारेजी गर्ने र घर आउन नसकेकाहरूलाई घरसम्म ल्याउने हाम्रो लक्ष्य छ ।’

पार्टी भित्रको किचलाका विषयमा उनी पार्टीभित्र वैचारिक बहस हुने कुरा सामान्य रहेको बताउँछिन् । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले अध्यक्ष र संरक्षकको टसलले पार्टीभित्र समस्या देखिएको बताउँदै सरकारमा सहभागी भएपछि पार्टीको विचार र सिद्धान्तमा कुनै फरक नपरेको बताउँछन् ।

‘कार्यकर्ताहरूमा अहिले पनि उस्तै ऊर्जा र उत्साह छ । नेतृत्वमै बरु केही समस्या आएको हो ’ उनी भन्छन्, हाम्रा ‘कमिटीहरूका नियमित बैठक बसेका छैनन् । त्यसले पनि सङ्गठन केही सुस्त देखिएको होला । ’

पार्टी भित्रको किचलो र विवाद शनिवार स्थापना दिवससम्म पनि देखिएको छ । संरक्षक रेशम चौधरीले टिकापुरको पार्टी कार्यालयमा १ बजे स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको जनाएका छन् भने अध्यक्ष रन्जिता श्रेष्ठले काठमाडौँमा ४ बजे महराजगञ्जस्थित पार्टी कार्यालयमा स्थापना दिवसको अवसरमा भेटघाट कार्यक्रम राखिएको बताउँछिन् ।