अझै सनाखत भएन बैतडीमा वेवारिसे अवस्थामा भेटिएको शव

शनिबार फागुन ३, २०८१/ Saturday 02-15-25
Paschim Today

बैतडीः बैतडीमा वेवारिसे अवस्थामा भीरमा भेटिएको शवको सनाखत अझै हुन सकेको छैन्।

जिल्लाको पाटन नगरपालिका–८ स्थित आरुबाटा भीरमा बिहिवार एक पुरुषको शव फेला परेको थियो। शव फेला परेको ३ दिन पुगिसक्दा पनि सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक बलराम पाण्डेयले शव सडेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको बताए।

उनले शव भीरबाट निकालेर पोष्टमार्टम भने गरिएको बताए। अन्दाजी ४० वर्षिय ति पुरुषको शवको पहिचान नभएपछि तत्कालका लागि जिल्ला अस्पतालको शव गृहमा राख्ने तयारी भएको बताईएको छ। शव सडेको हुनाले थप सड्न नदिने व्यवस्थासहित अस्पतालको शव गृहमा राख्ने तयारी भएको प्रहरी निरीक्षक पाण्डेयले बताए। उक्त शवको बिषयमा सबै ठाउँमा जानकारी गराइसकिएको र सूचना जारी गर्दा समेत कोही सम्पर्कमा नआएमा शव व्यवस्थापन निर्देशिका अनुसार शवको व्यवस्थापन गरिने उनले बताए।