अमेरिका र युक्रेनबीच दूरी बढ्दै, जेलेन्स्की ‘निरङ्कुश’ भएको डोनल्ड ट्रम्पको आरोप

संयुक्त राज्य अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच दूरी बढिरहेको समयमा ट्रम्पले जेलेन्स्कीलाई "निरङ्कुश"को सङ्ज्ञा दिएका छन्।
अमेरिका र रुसबीच साउदी अरबमा मङ्गलवार भएको प्रत्यक्ष वार्ताप्रति असन्तुष्टि जनाउँदै जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प रुसी दुष्प्रचारबाट प्रभावित भएको बताएका थिए।
त्यसको प्रतिक्रियामा ट्रम्पले जेलेन्स्कीको थप आलोचना गरेका छन्। अमेरिकाको फ्लोरिडामा साउदी अरबको आयोजनामा भएको लगानी सम्मेलनमा ट्रम्पले जेलेन्स्कीले यसअघिका अमेरिकी राष्ट्रपति जो बाइडनलाई "प्रभावमा पारेको" आरोप लगाए।
ट्रम्पको "निरङ्कुश" भन्ने टिप्पणीको युरोपेली नेताहरूले तत्कालै आलोचना गरेका थिए। जर्मनीका चान्सलर ओलाफ शोल्ट्सले "राष्ट्रपति जेलेन्स्कीको प्रजातान्त्रिक वैधानिकता अस्वीकार गर्नु गलत र खतरनाक" भएको टिप्पणी गरे।
यूकेका प्रधानमन्त्री किअर स्टार्मरले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई टेलिफोन सम्पर्क गरेर आफूले उनलाई समर्थन गर्ने स्पष्ट पारे। प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटका प्रवक्ताले किअरलाई उद्धृत गर्दै उनले "युक्रेनमा प्रजातान्त्रिक विधिबाट निर्वाचित नेताको रूपमा जेलेन्स्कीलाई आफ्नो समर्थन रहेको" बताएका छन्।
यूकेले पनि दोस्रो विश्वयुद्धका क्रममा निर्वाचन स्थगित गरेको उदाहरण दिँदै उनले युद्धका समयमा निर्वाचन रोक्नु व्यावहारिक भएको किअरले बताएको प्रवक्ताले जानकारी गराएका छन्।
तस्बिर स्रोत,Reuters
तस्बिरको क्याप्शन,फाइल तस्बिर
जेलेन्स्कीको पाँचवर्षे कार्यकाल सन् २०२४ को मेसम्म थियो। तर सन् २०२२को फेब्रुअरीमा रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेयता युक्रेनमा सैनिक शासन लागु गरिएको छ। त्यहाँ निर्वाचन स्थगित गरिएको छ।
स्वीडनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले पनि ट्रम्पले जेलेन्स्कीबारे गरेको टिप्पणीको आलोचना गरे। जर्मनीकी विदेशमन्त्री आनालेना बेअरबोकले ट्रम्पको प्रतिक्रिया "हास्यास्पद" भएको बताइन्।
"वास्तविक युरोपमा हेर्नुभयो भने कुन देशका मानिसहरू तानाशाही शासनमा बस्नुपरिरहेको छ भन्ने थाहा पाउनुहुन्छ। रुसका मानिसहरू, बेलारुसका मानिसहरू," उनले जेडडीएफ प्रसारकसँग भनिन्।
सामाजिक सञ्जाल 'ट्रूथ'मा जेलेन्स्कीलाई "निरङ्कुश" भन्ने टिप्पणी गरेको केही घण्टामै ट्रम्पले फ्लोरिडामा भएको कार्यक्रममा पनि त्यही शब्द दोहोर्याएका थिए।
"उनी चुनाव गर्न मान्दैनन्। युक्रेनमा वास्तविक मत सर्वेक्षणहरूमा उनी अलोकप्रिय छन्। प्रत्येक सहर ध्वस्त भइरहँदा उनी लोकप्रिय पनि कसरी रहन सक्छन्?" ट्रम्पले भने।
युक्रेनबाट 'रेअर अर्थ' वर्गमा पर्ने दुर्लभ खनिज पदार्थहतू अमेरिका ल्याउने आफ्नो प्रस्तावको सन्दर्भ उल्लेख गर्दै ट्रम्पले जेलेन्स्कीले सहमति तोडेको आरोप लगाए।
उनको सम्बोधन केही समयअघि 'ट्रूथ'मा गरिएको पोस्टसँग मेल खाने किसिमको थियो। ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीबारे लेखेका थिएः "उनले डरलाग्दो काम गरेका छन्। उनको देश ध्वस्त भएको छ र अनावश्यक रूपमा दशौँ लाख मानिसले ज्यान गुमाएका छन्।"
ह्वाइट हाउसका एक प्रवक्ताले जेलेन्स्कीले ट्रम्प रुसी मिथ्या सूचनाको भ्रममा परेको आरोप लगाएपछि ट्रम्पले त्यसको सीधा जबाफ दिएको बताए।
युक्रेनका पूर्वप्रधानमन्त्री आर्सेनी यात्सेन्यूकले ट्रम्पको प्रतिक्रियापछि रुसमा खुसीयाली छाएको बताए।
"भोलोदिमिर जेलेन्स्की पूर्णतः वैधानिक राष्ट्रपति हुन्," उनले भने। "हामी सैन्य कानुन लागु भएको समयमा चुनाव गर्न सक्दैनौँ।"
मार-ए-लागोमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले जेलेन्स्कीको लोकप्रियताको 'रेटिङ' ४ प्रतिशतमा झरेको भनेपछि दुई नेताले एकअर्काको आलोचना गर्न थालेका छन्।
तपाईको प्रतिक्रिया