अध्यादेश  सहमतिमै पारित हुन्छ : मन्त्री भण्डारी

बिहीबार फागुन ८, २०८१/ Thursday 02-20-25
Paschim Today

कैलाली ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले ल्याएका अध्यादेश जारी अधिवेशनमै पेस गरेर पारित गर्ने तयारी रहेको बताएका छन् । उनले अध्यादेश  सहमतिमै पारित हुनेमा समेत विश्वास व्यक्त गरेका थिए ।
‘संसद्को अधिवेशन सुचारु छ । हामीले थुप्रै विधेयक प्रस्तुत गरेका छौँ र, पारित पनि भएका छन् । सरकारले ल्याएको अध्यादेश पनि संसद्मा प्रवेश पाउँदै छ,’  प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा  मन्त्री भण्डारीले भने,  ‘सहमतिमै अध्यादेश पारित हुने तयारी भइरहेको छ ।’
 सरकारको अर्धवार्षिक समीक्षाको परिणामका आधारमा अहिले नै विषयगत मन्त्रालयका बारेमा धारणा बनाइहाल्नुपर्ने अवस्था नरहेको  उनको भनाइ थियो । 
‘सरकारले अहिले सम्पादन गरिरहेका कामहरूको परिणाम निकाल्ने कुरामा थुप्रै जटिलता र समस्याका चाङहरू छन् । परिणाम निकाल्न निश्चित कोर्स लिन्छ नै । त्यसैले ६ महिनाको परिणाम पर्याप्त होइन,’ भण्डारीले भने, ‘सरकारले गति लिइरहेको छ । कार्य सम्पादनलाई प्रभावकारी बनाउने र सुशासनलाई प्रत्याभूति गर्ने थुप्रै विषय अध्यादेशले अघि सारेको छ । निजी क्षेत्रले समेत स्वागत गरेको छ ।’
मन्त्री भण्डारीले गेटामा निर्माण भइरहेको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि पनि सरकारले तयारी गरिरहेको बताए । उनले सेती प्रादेशिक अस्पताल गाभेर भए पनि  गेटामा मेडिकल विश्वविद्यालय सुरु हुने दाबी गरेका थिए ।
उनले भने ‘सेती प्रादेशिक अस्पताललाई जोडेर भए पनि सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि प्रधानमन्त्रीले शिक्षा र स्वास्थ्य मन्त्रालयलाई निर्देशन गरिसक्नु भएको छ’ । 
 उनले दोधाराचाँदनीमा निर्माणको प्रक्रियामा रहेको सुख्खा बन्दरगाहको पनि भारत सरकार ठेक्काको अन्तिम चरणमा रहेको बताए । 
‘दोधाराचाँदनीमा निर्माण भइरहेको सुख्खा बन्दरगाहको निर्माणका लागि भारत सरकार ठेक्काको अन्तिम चरणमा रहेको जनाएको छ । नेपाल सरकारको तर्फबाट त्यहाँको रुख कटानको आदेश पनि भइसकेको छ । रुख कटानका लागि सूचनासमेत प्रकाशित भइसकेको छ । भारत सरकारले निमार्णको ठेक्का गर्ने बित्तिकै रुख कटान पनि सुरु हुनेछ’, मन्त्री भण्डारीले भने ।
सरकारमा सहभागी मन्त्री, सांसद तथा नेताहरूले हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेर सुदूरपश्चिमका महत्त्वपूर्ण विकास, निर्माणका योजनालाई गति दिन ध्यानाकर्षण गराइएको बताए ।
‘सुदूरपश्चिमबाट सरकारमा सम्मिलित सबै मन्त्री, माननीय र यहाँ नेताहरूले प्रधानमन्त्री ज्यूलाई भेटेर प्रदेशको विकाससँग जोडिएका गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने, महाकाली करिडोर, खुटिया दिपायल फास्ट ट्र्याक, प्रदेशको राजधानी निर्माणलाई अघि बढाउने जस्ता कुरामा महत्त्वपूर्ण छलफल भएको छ,’ उनले भने ।
अधुरा कामलाई पूर्णता दिने र नयाँ कामको थालनी गर्ने विषयमा प्रधानमन्त्रीसँग महत्त्वपूर्ण छलफल भएको भण्डारीको भनाई थियो ।  प्रदेशको राजधानी निर्माणको काम पनि चाडै अघि बढ्ने मन्त्री भण्डारीको भनाई थियो ।
धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सीप तथा रोजगार मेलाको उद्घाटनका लागि मन्त्री भण्डारी बिहीबार बिहान धनगढी आएका छन्।