लोकतन्त्रको विकल्प कुनै तानाशाही व्यवस्था हुन सक्दैनः गृहमन्त्री लेखक

शुक्रबार फागुन १६, २०८१/ Friday 02-28-25
Paschim Today

काठमाडौं, १६ फागुन । गृहमन्त्री रमेश लेखकले संघीय संसद्मा विचाराधीन शिक्षासम्बन्धी विधेयक चाँडोभन्दा चाँडो पारित गराउन सरकार लागिपरेको बताएका छन् । आज (शुक्रबार) नेशनल प्याव्सको महाधिवेशनमालाई सम्बोधन गर्दै उनले शिक्षा विधेयकलाई सन्तुलित बनाएर पास गरिने बताए । विधेयकमा विद्यार्थी, अभिभावक र शिक्षकको सर्वोत्तम हितलाई ध्यानमा राखेर शिक्षा विधेयक पारित गरिने उनले बताए । शिक्षा विधेयक पारित गराउने सन्दर्भमा प्रतिपक्षी दलहरु पनि सहमत रहेको उनले बताए ।

वर्तमान सरकार केही मानिसलाई मन्त्री र कोही मान्छे प्रधानमन्त्री बनोस् भनेर नबनेको उनको दाबी छ । सरकार देशमा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको उनको दाबी छ ।

साथै, वर्तमान व्यवस्थाको विकल्प अर्को कुनै व्यवस्था हुन नसक्ने उनको दाबी छ । मन्त्री लेखकले लोकतन्त्रको विकल्पमा अर्को कुनै तन्त्र आएपछि सबै कुरा ठीक हुन्छ भन्नु बेठीक रहेको बताए । ‘लोकतन्त्रको विकल्प कुनै तानाशाही व्यवस्था हुन सक्दैन । यो संसारको यथार्थताले देखाइसकेको कुरा हो । लोकतन्त्रको एउटा विकल्प हो, लोकतन्त्र । केही कुराहरुको कमी भएको छ, त्यसलाई राम्रो गर्नुपर्यो । अगाडि बढाउनुपर्यो । केही कुरा भएका छन्, धेरै कुरा गर्नुपर्यो । तर, लोकतन्त्रमा हुन सकेन, अर्को कुनै तन्त्र आएपछि हुन्छ भन्नु त्यो बेठीक हो,’– उनले भने ।