बद्रीनाथमा हिमपहिरो, फसेका ५७ जनामध्ये १० जनाको उद्धार

शुक्रबार फागुन १६, २०८१/ Friday 02-28-25
Paschim Today

एजेन्सी : भारतको उत्तराखण्डको चमोली जिल्ला स्थित बद्रीनाथ मन्द्रिर क्षेत्रमा  शुक्रबार ठूलो हिमपहिरो जाँदा ठूलो संख्यामा कामदार फसेका छन् ।  सडक निर्माणमा संलग्न कम्तीमा ४७ जना कामदार हिउँको ठूलो थुप्रोमुनि फसेका छन् । हिमपहिरोमा फसेका १० जनालाई उद्धार गरिएको छ । भने अन्यको उद्दार कार्य जारी छ । 

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भने, “सीमा सडक सङ्गठन (बीआरओ) शिविरका निर्माण मजदुरहरू बद्रीनाथको माना गाउँनजिकै काम गरिरहेका समय एक्कासी हिमपहिरो आउँदा केही व्यक्ति  हिउभित्र फसेका छन् । उद्धारका लागि सुरक्षकर्मी त्यसतर्फ गइसकेका छन् ।” प्रहरी मुख्यालयका प्रवक्ता आईजी निलेश आनन्द भर्नेले यो समाचार तयार पार्दासम्म ५७ जना कामदारमध्ये १० जना कामदारको उद्धार गरिएको बताए । 

“मानाको सीमा क्षेत्रमा रहेको सीमा सडक सङ्गठनको शिविर नजिकै ठूलो हिमपहिरो खसेको छ जसमा सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका र तीमध्ये १० जना कामदारलाई उद्धार गरी गम्भीर अवस्थामा माना नजिकैको सेनाको क्याम्पमा पठाइएको छ,” प्रहरी महानिरीक्षक निलेश आनन्द भर्नेले एएनआईसँग बताए ।

यसैबीच, बीआरओका कार्यकारी इञ्जिनियर सीआर मीनाले उद्धार कार्य जारी रहेको र भारी हिमपातका कारण टोलीलाई कठिनाइ भइरहेको बताए । उनले भने, “तीनदेखि चारवटा एम्बुलेन्स पनि पठाइएको छ, तर बाक्लो हिमपातका कारण उद्धार टोलीलाई त्यहाँ पुग्न समस्या भइरहेको छ,” बीआरओका कार्यकारी इञ्जिनियरले भने । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले भारत–तिब्बत सीमा प्रहरी र बीआरओले राहत र उद्धार कार्य जारी राखेको बताए ।