एनएसएलमा धनगढी एफसीबाट ओलावालेको निरन्तरता

मंगलबार फागुन २०, २०८१/ Tuesday 03-04-25
Paschim Today

धनगढी । धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि नाइजेरीयन फरवार्ड आफिज ओलावालेलाई पुनः टोलीमा अनुबन्ध गरेको छ।

ओलावाले यसअघि एनएसएलका दुई संस्करणमा धनगढी एफसीबाट खेल्दै टोलीलाई दुवै सिजनको फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। भारत र बंगलादेशका शीर्ष लिगमा समेत अनुभव हासिल गरिसकेका ३० वर्षीय ओलावालेले नेपालका अधिकांश शीर्ष क्लबबाट खेलिसकेका छन्। उनको आगमनले धनगढी एफसीलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।

धनगढी एफसीले यसअघि नै लेबनानी फरवार्ड अहमद हजाजीलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ। यसबाहेक, देवेन्द्र तामाङ, जेजस काकी, पासाङ लामा, विवेक पौडेल, विजयारथ शेख, रुद्र फुयाँल, रामचन्द्र वादी, शांतिलाल र अशोक खवासजस्ता खेलाडी टोलीमा रहेका छन्। यस सिजनका लागि धनगढी एफसीले स्पेनका जुआन म्यानुएल मार्टिनेज सायेजलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ।

युइएफए प्रो लाइसेन्स प्राप्त मार्टिनेजले स्पेन, पानामा, थाइल्यान्ड, ओमान, माल्दिभ्स र बंगलादेशका क्लबहरूलाई प्रशिक्षण गराइसकेका छन्। भने नेपाली क्रिकेट टोलिका स्टार अलराउण्डर दिपेन्द्र सिंह ऐरी लाई ब्राण्ड एम्बासडर नियुक्त गरिसकेको छ । नाइजेरीयन फरवार्ड ओलावालेले लगातार तेस्रो पटक धनगढी एफसीबाट खेल्न पाउँदा खुशी व्यक्त गरेका छन्।

उनले भने, 'हामी दुई सिजन उपाधिको धेरै नजिक पुगेर चुकेका थियौं। अधुरो सपना पूरा गर्न यसपटक टोलीसँग पुनः जोडिएको छु।' धनगढी एफसीका अध्यक्ष सुवास शाहीले ओलावाले टोलीका मुख्य पहिचान भएकाले उनको आगमनले क्लबलाई थप मजबुत बनाउने बताएका छन्।

उनले भने, 'नेपाली माटोमा राम्रो सँग भिजेका र नेपाली फुटबलमा गोलमेसिनका रूपमा चिनिएका ओलावालेले यस सिजन पनि समर्थकहरूको मन जित्ने विश्वास लिएका छौं।' धनगढी एफसीले चैत १६ गते सुरु हुन गईरहेको एनएसएलको‌ तेस्रो संस्करण‌का लागि बलियो तयारी गरिरहेको छ। विदेशी तथा अनुभवी खेलाडीको आगमनले क्लबलाई उपाधि दाबेदार बनाउने अपेक्षा गरिएको छ।