सुदूरपश्चिम स्थानीय तह विधेयकबाट ‘आन्तरिक प्रतिस्पर्धा’ हटाइने, करारलाई एकपल्ट उमेर हद नलाग्ने

मंगलबार फागुन २०, २०८१/ Tuesday 03-04-25
Paschim Today

कैलाली । ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ मा केही हेरफेर गर्न सत्ता गठबन्धनभित्र सहमति जुटेको छ ।

विधेयकमा विवादमा रहेको विषयमा मुख्यमन्त्री कमल बहादुर शाहले मंगलबार सत्ता गठबन्धनको बैठक डाकेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता र प्रमुख सचेतकसहितको बैठकमा विधेयकमा रहेको महत्त्वपूर्ण विवादित विषय हटाउने सहमति भएको छ ।

मुख्यमन्त्री शाहले सभामुख भीम भण्डारी, विधायन तथा प्रदेश मामिला समिति सभापति दिवानसिंह विष्ट, प्रदेश लोकसेवा आयोगका अध्यक्ष यज्ञराज बोहरासहित सत्ता गठबन्धनका नेता तथा प्रमुख सचेतकहरूलाई विधेयकमा निकास दिन छलफलमा डाकेका थिए ।

सभामुख बैठकमा आएनन् । त्यसबाहेक संसदीय समितिका सभापति विष्ट, लोक सेवा आयोगका अध्यक्ष बोहरासहित नेपाली कांग्रेसको तर्फबाट संसदीय दलका नेता समेत रहेका स्वयम मुख्यमन्त्री शाह र प्रमुख सचेतक विक्रमसिंह धामी, नेकपा एमालेको तर्फबाट संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रमुख सचेतक चक्र मल्ल र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट संसदीय दलको नेता घनश्याम चौधरी र प्रमुख समेतक इन्दिरा गिरी बैठकमा उपस्थित हुने छन् । बैठकमा सामाजिक विकास मन्त्री मेघराज खड्का पनि उपस्थित थिए ।

प्रमुख सचिव डा. कमल प्रसाद पोख्रेल र सचिव वसन्त प्रसाद कोइरालालाई सँगै राखेर गरिएको छलफलमा विधेयकमा स्वीकृत स्थायी दरबन्दीमा अस्थायी वा करारको रुपमा नियुक्त भएकाहरूको लागि ऐन लागू भएपछि पहिलो पटकको लागि उनीहरूबीच नै छुट्टै आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा प्रदेश लोकसेवा आयोगले पदपूर्ति गर्ने व्यवस्थाबारे व्यापक छलफल भएको थियो ।

आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा प्रदेश लोकसेवा आयोगले पदपूर्ति गर्ने व्यवस्थाले स्थानीय तहमा अस्थायी वा करारको रुपमा कार्यरत कर्मचारीलाई मात्रै फाइदा पुग्ने हुँदा त्यस व्यवस्थालाई संशोधन गर्नु पर्ने छलफलले निष्कर्ष निकालेको छ ।

अब आन्तरिक प्रतिस्पर्धाका ठाउँमा खुल्ला प्रतिस्पर्धाबाट प्रदेश लोकसेवा आयोगले पदपूर्ति गर्ने व्यवस्था लागू हुनेगरि सहमति भएको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

‘लोक सेवा आयोग पास गरिसकेर निजामती कर्मचारी भइसकेपछि मात्रै आन्तरिक प्रतिस्पर्धा गर्ने कुरा हुन्छ करार र अस्थायी कर्मचारीहरूले त लोक सेवाको परीक्षा दिनुभएको छैन कसरी आन्तरिक प्रतिस्पर्धा हुन्छ’, उनले भने, ‘अब लोक सेवाले परीक्षा लिँदा खुल्ला प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले खुल्ला प्रतिस्पर्धा हुने र स्थानीय तहमा अस्थायी वा करारको रुपमा कार्यरत कर्मचारीको हकमा पहिलो एक पटकको लागि मात्र उमेर हद नलगाउने सहमति भएको बताए ।

लोक सेवामार्फत खुल्ने विज्ञापनमा प्रतिस्पर्धा गर्न ३५ वर्ष उमेरहद तोकिएको छ । ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ अनुसार स्थानीय तहका कर्मचारीहरूको लागि भने उमेरहद नलाग्ने भएको छ ।स्थानीय सरकार सञ्चालन ऐनको धारा ८७ मा पनि यो व्यवस्था रहेको छ ।

छलफलमा विधायन तथा प्रदेश मामिला समिति सभापति विष्टले हुबहु पारित गर्दा पनि खासै फरक नपर्ने बताएका थिए । तर, सहभागी सबैजसोले खुल्ला प्रतिस्पर्धा मार्फत मात्रै आयोगले परीक्षा दिनुपर्ने बताएपछि त्यसैमा सहमति जुटेको हो ।

प्रदेशसभाको दशौँ अधिवेशनबाट दफावार छलफलको लागि साउन २९ गते विधायन तथा प्रदेश मामिला समितिमा उक्त विधेयक ल्याइएको थियो । विधायन तथा प्रदेश मामिला समितिले दफावार छलफलपछि सभामुख भण्डारीलाई बुझाइएको प्रतिवेदन अझै प्रदेश सभा सचिवालयमा दर्ता भएको छैन ।

विधेयकमा रहेका केही व्यवस्थाले सीमित कर्मचारीलाई लाभ पुग्ने भन्दै व्यापक गुनासो आएपछि सभामुख भण्डारीले त्यसलाई अध्ययन गरिरहेका छन् । सोमबार मात्रै सभामुख भण्डारी र मुख्यमन्त्री शाहबीच पनि यो विषयमा छलफल भएको थियो । प्रमुख सचिवसहितको उक्त छलफलमा अहिलेकै अवस्थामा विधेयक पास गर्दा सीमित कर्मचारीलाई लाभ पुग्ने भन्दै संशोधन हुनुपर्ने कुरो उठेको थियो ।

स्थानीय निकायको स्वीकृत दरबन्दीमा अधिकृत छैटौँ र आठौँ तहको पदमा नियुक्ति भएका कर्मचारीहरूको लागि कानुनले केही सहज गरिदिएको छ । तह वृत्ति गर्दा ज्येष्ठता पुरानै कायम गर्दा लोकसेवा आयोगबाट पास भएर आएका कर्मचारीहरू मारमा पर्ने बताइएको छ ।

‘साबिक स्थानीय निकायको स्वीकृत दरबन्दीमा अधिकृत छैटौँ र आठौँ तहको पदमा नियुक्ति भई स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई माथिल्लो तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता पुगेको भए अख्तियारवालाले एक पटकको लागि स्थानीय सेवाको क्रमशः अधिकृत सातौँ र नवौँ तह कायम गरिदिने छ’, दरबन्दी कायमा गर्ने व्यवस्थामा भनिएको छ, ‘यसरी तह मिलान भएको तहको ज्येष्ठता सुरु नियुक्ति भएको मितिदेखि लागू हुनेछ ।’

स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको तह वृत्ति गर्दा साविक घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला विकास समिति, नगरपालिका तथा गाउँपालिमा रहेका कर्मचारीहरूको बारेमा मात्रै उल्लेख गरिएको छ यहाँ पनि लोकसेवा आयोगबाट पास भएर आएका निजामती कर्मचारी मारमा परेको उनीहरुको गुनासो रहेको थियो ।

मुख्यमन्त्री शाहले विवादित विषयको अध्ययन गरेर सबैलाई लाभ हुनेगरि कानुन बनाउनु पर्नेमा लागिरहेका छन् ।