राति ८ बजेसम्म सेवा दिँदै जिल्ला प्रशासन
.2025-03-12-04-30-56.jpeg)
बैतडी, फागुन २८ गते । जिल्ला प्रशासन कार्यालय बैतडीले सेवा लिन आएका सर्वसाधारणलाई सास्ती नहोस् भन्ने उद्देश्यले राति ८ बजेसम्म सेवा प्रदान गर्न थालेको छ । सामान्यतया बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने जिल्ला प्रशासन कार्यालय अहिले राति ८ बजेसम्म खुला हुने गरेको छ ।
नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउनेको भीड अत्याधिक भएकाले सेवाग्राहीलाई होटलमा बास बस्ने सास्ती नहोस् भन्ने उद्देश्यले राति ८ बजेसम्म सेवा दिइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले बताए ।
उनले भन, “पछिल्लो समय राष्ट्रिय परिचपत्र बनाउनेको भीड बढी छ । दुर्गम गाउँबाट गाडी बुक गरेर आएका सेवाग्रहीलाई राति ८ बजेसम्म सेवा दिइरहेका छौं ।”
सोमबार जिल्लाको सिगास गाउँपालिकाबाट छोरीको नागरिकता बनाउन अबेर आइपुगेका सेवाग्राही पदमबहादुर ऐरीले राति अबेरसम्म कर्मचारीले कार्यालय खोलेर नागरिकता र राष्ट्रिय परिचयपत्र बनाइदिएको बताए । गाउँका अन्य मानिसले गाडी बुक गरेर आएकाले बेलुकी ७ बजे सेवा लिएर घर फर्किएको उनले बताए ।
पछिल्लो समय बैँक तथा वित्तीय संस्थाहरूले खाता खोल्न अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र आवश्यक गरेपछि सेवाग्राहीको भीड बढेको जिल्ला प्रशासन कार्यालय बैतडीका कम्प्युटर अपरेटर सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो । उहाँले राति ८ बजेसम्म कम्प्युटरमा बसेर नागरिकता टाइप गर्दै आएको बताए ।
जिल्ला प्रशासन कार्यालय बैतडीमा दैनिक एक सय जनाभन्दा बढी सेवाग्राहीले नयाँ नागरिकता, प्रतिलिपी र राष्ट्रिय परिचयपत्र बनाउँदै आएका छन् । गएको १८ दिनमा दुई हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएको पाइएको छ ।
पन्जीकरण शाखामा एक मात्रै स्टेसन
जिल्ला प्रशासन कार्यालय बैतडीमा राष्ट्रिय परिचय पत्र जारी गर्न एउटा मात्रै स्टेसन भएकाले सेवा प्रवाह छरितो बन्न सकेको छैन । राष्ट्रिय परिचय पत्र जारी गर्न एउटा मात्रै बायोमेट्रिक मेसिन भएकाले थप अर्को स्टेसन थप गर्न विभागसमक्ष माग गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्ययले बताए ।
उनले भने, “सकेसम्म पालिका स्तरमै राष्ट्रिय परिचपत्रको विवरण सङ्कनका लागि बायोमेट्रिक मेसिन र सफ्टवयर दिने विषय पनि विभागले जानकारी गराएको छ । त्यसो हुन सके सेवाग्राहीले पालिकाकै पन्जीकरण शाखाबाट छिटो सेवा पाउन सक्छन् । पालिकामा सङ्कलन भएको विवरण अनुसार कार्ड छपाइ भइसकेपछि वितरण गर्न सहज हुने छ ।”
तपाईको प्रतिक्रिया