होलीले नेपालीबीच आपसी प्रेम, बन्धुत्व र एकताको भावना बढाओस् :प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले होलीले सबै नेपालीबीच आपसी प्रेम बन्धुत्व र एकताको भावना बढाएर नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने कामना गरेका छन् ।
फागु पूर्णिमा (होली)को अवसरमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख मियाँले पर्वले आपसी सद्भाव र एकतालाई बलियो बनाउने बताएका हुन्। प्रदेश प्रमुख मियाँले यस्ता पर्वहरूले विभिन्न जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
‘यस्ता पर्वहरूले विभिन्न जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुराउनका साथै एक आपसमा आपसी प्रेम सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै जाने अपेक्षा गरेको छु’ प्रदेश प्रमुखले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ, ‘यस पर्वले सबै नेपालीबीच आपसी प्रेम बन्धुत्व र एकताको भावना बढाएर नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु । ’
सांस्कृतिक विविधताले भरिएको मुलुकमा असत्यमाथि सत्यको अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसीयालीमा फागु पूर्णिमा मनाइने गरेको उल्लेख गर्दै उनले एक आपसमा रिसराग परित्याग गरि प्रेम भाव र आत्मीयताका साथ सुखी एवम् हर्षाेल्लासपूर्वक आफन्त र साथीहरूसँग अबिर तथा रङ्गहरू दलेर होली मनाउनु पर्ने बताएका छन् ।
नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वहरूमध्ये फागु पर्व एक विशिष्ट पर्व हो । पहाडमा पहिलो दिन र तराई–मधेसमा त्यसको भोलिपल्ट मनाइने यस पर्वलाई मधेस प्रदेश र विशेषगरी मिथिला क्षेत्रमा निकै महत्वका साथ मनाउने गरिन्छ । परिवार, आफन्तजन, साथीभाइ जम्मा भई एकअर्कालाई विविध रङ दलेर, टीका लगाएर सांस्कृतिक सद्भाव र सामाजिक सम्बन्ध गाढा बनाउने महत्त्वपूर्ण पर्वका रूपमा यसलाई मनाउने गरिन्छ ।
तपाईको प्रतिक्रिया