आरआर क्याम्पस स्ववियु सभापतिको दौडमा दार्चुलाका विनोद जोशी

धनगढी : रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) स्ववियु सभापति पदका लागि नेपाल विद्यार्थी संघका तर्फबाट विनोद राज जोशी चुनावी मैदानमा छन्। विद्यार्थीको हकहितमा सक्रिय जोशीको लोकप्रियता चुनाव नजिकिँदै जाँदा अझै बढ्दै गएको छ।
जोशीले विद्यार्थीका हकहितमा विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। उनले अघिल्लो कार्यकालमा काठमाडौंका विभिन्न कलेज तथा क्याम्पसमा विद्यार्थीबाट असुल्दै आएको अवैध शुल्क रोक्ने अभियान चलाएका थिए। धेरै विद्यार्थीलाई फिर्ता गराइएको रकम र भर्ना प्रक्रियामा गरिएको सहयोगका कारण उनी राजधानीका विद्यार्थीमाझ चर्चित बनेका छन्।
दार्चुलाको मालिकार्जुन–८, पस्तीमा जन्मिएका जोशी हाल आरआर क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहेका छन्। उनले कैलालीस्थित ऐश्वर्य विद्या निकेतनबाट एसईई गरेका थिए। विद्यार्थी जीवनकै प्रारम्भिक चरणमा नेविसंघमा सक्रिय भएका जोशी ऐश्वर्य विद्या निकेतन एकाइ कमिटीको अध्यक्षसमेत भइसकेका छन्। उच्च अध्ययनका लागि काठमाडौं पुगेपछि उनले विद्यार्थी राजनीति निरन्तर जारी राखे। उनी हाल नेपाल ल क्याम्पसबाट बीएएलएलबी अध्ययन गरिरहेका छन्।
स्ववियु सभापति निर्वाचित भएमा जोशीले आरआर क्याम्पसमा डिजिटल लाइब्रेरी स्थापना गर्ने, विद्यार्थीलाई रोजगारीसँग जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीमा इन्टर्नसिपको व्यवस्था गर्ने, कलेजलाई आम्दानीको स्रोत बनाउने, निःशुल्क वाइफाइ उपलब्ध गराउने जस्ता लोकप्रिय योजना सार्वजनिक गरेका छन्।
तपाईको प्रतिक्रिया