गुणस्तर सुधार्न अनुगमन
2025-03-18-02-08-22.jpeg)
बझाङ, ५ चैत । शैक्षिक अवस्थालाई सुधार गर्नका लागि सामुदायिक विद्यालयमाथि पालिकाले अनुगमन बढाइएका छन् । बझाङको जयपृथ्वी नगरपालिका र थलारा गाउँपालिकाले सामुदायिक विद्यालय र निजी विद्यालयको शैक्षिक गुणस्तरको वास्तविकता मापन गर्न प्रत्यक्ष निगरानी गरिरहेका छन् ।
पछिल्लो समयमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै गएको स्थानीयबाट गुनासो आउन थालेपछि यहाँका पालिकाले आफ्नो प्रत्यक्ष संलग्नतामा प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, अनुगमन मूल्याङ्कन गर्ने कार्यको थालनी गरिरहेका छन् । दक्ष शिक्षक रहेको सामुदायिक विद्यालयका अध्ययन गर्ने बालबालिकाको शिक्षाको गुणस्तर खस्कने अवस्थामा पुगेपछि पालिकाले निगरानी बढाएका हुन् ।
गत वर्ष कक्षा ८ मा अध्ययनरत छात्रछात्राको शैक्षिक गुणस्तर मापन गर्नका लागि पालिकाले नै प्रश्नपत्र तयार गरेर पालिकाका सबै विद्यालयमा एकै पटक परीक्षा लिएर उत्तरपुस्तिका पनि पालिकाले नै जाँच गरेर नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने जयपृथ्वी नगरपालिका र थलारा गाउँपालिकाले कक्षा ४ देखि ९ सम्मको परीक्षा पालिकाले लिएको हो । परीक्षा केन्द्रसमेत निर्धारण गरेर पालिकाले अनुगमन समिति तयार गरेर परीक्षा केन्द्रमा अनुगमन तथा निगरानीसमेत बढाएको हो ।
जयपृथ्वी नगरपालिकाले नगरपालिकाभित्र रहेका २३ वटा सामुदायिक विद्यालयको पालिकास्तरीय परीक्षा लिइरहेको छ । जयपृथ्वी नगरपालिकाले नै विज्ञ टोलीमार्फत प्रश्नपत्र तयार गरेर परीक्षा लिन सुरु गरेको नगरप्रमुख चेतराज बजालले बताए ।
यसका साथै शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवालासँग छलफल र बहससमेत सञ्चालन गरिरहेका छौँ, विद्यालयसँग सरोकार राख्ने विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घ, विद्यार्थी–शिक्षक, अभिभावक र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि र निर्वाचित जनप्रतिनिधि सबैलाई एकै ठाउँमा राखेर बहस तथा छलफलसमेत अघि बढाएको उनले बताए ।
अहिले जयपृथ्वी नगरपालिकामा मात्रै तीन हजार ४५ जना छात्रछात्रा परीक्षामा सामेल भएका छन् । पालिकाले प्रश्नपत्र तयार गर्नुका साथै पालिकाले नै उत्तरपुस्तिकासमेत उपलब्ध गराएको जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक नीरज रेग्मीले बताए ।
यस वर्ष भने थलारा गाउँपालिकाभित्र रहेका कक्षा ४ देखि ९ सम्म अध्यापन गराउने २६ वटै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राको परीक्षा पालिकाले नै लिएको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर रोकायाले बताए ।
जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले शिक्षाको अवस्था सुधार गर्न पालिका वडादेखि आमसमुदायको उत्तिकै भूमिका रहेका कारण सबै एकताबद्ध भएर लाग्न जरुरी रहेको बताए । उनले विद्यालयको समायोजन गर्ने र दरबन्दी मिलान गर्नेदेखि अभिभावक शिक्षा, शिक्षकको क्षमता अभिवृद्धि गर्ने खालका व्रिmयाकलापसमेत नगरपालिकाले अघि सारेको बताए ।
तपाईको प्रतिक्रिया