घोडाघोडी क्याम्पस स्ववियू निर्वाचन चैत्र २३ गते

शुक्रबार चैत ७, २०८१/ Friday 03-21-25
Paschim Today

कैलाली, ८चैत्र । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा नामावलीको विषयलाई लिएर सहमति नजुटेपछि स्थगित भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत्र २३ गते गर्ने सहमति भएको छ ।

 स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन तालिका अनुसार चैत्र ५ गते सबै क्याम्पसमा निर्वाचनको मिति तोकिएको थियो तर उक्त क्याम्पसमा विद्यार्थी नामावलीको विषयमा सहमति नजुटेपछि फागुन २६ गते नेपाल विद्यार्थी संघले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया रोकिएको थियो ।

समस्या समाधानका लागि विद्यार्थी संगठनहरु बिच पटक पटक छलफल गर्दा कुनै समाधान नभएपछि निर्वाचन संयोजक पुष्पराज जैशीले निर्वाचन स्थगितको सूचना जारी गर्दै थप सहमतिकालागि क्याम्पस प्रशासनलाई जिम्मा दिइएको थियो ।

यता निर्वाचन स्थगितको सूचना आए लगतै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० ले क्याम्पस प्रशासनमा ताला लगाएको थियो । नयाँ निर्वाचन समिति गठन गरी नयाँ ढङ्गले निर्वाचन प्रक्रिया अगाडी बढाउने सहमतिपछि बिहीबार विद्यार्थी संगठनहरु चैत्र २३ गते निर्वाचन गर्न सहमत भएको जनाइएको छ । 

क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईले सहप्राध्यापक विनोदकुमार खड्काको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन समिति गठन गरी निर्वाचनको प्रक्रिया अगाडी बढाउन जिम्मा दिइएको बताए ।

निर्वाचन समिति संयोजक विनोदकुमार खड्काले निर्वाचन प्रयोजन नामावली र निर्वाचन सम्बन्धमा छलफल गर्न शुक्रवार दिउँसो निर्वाचनमा भाग लिने विद्यार्थी सङ्गठनलाई बोलाएको जानकारी दिए । सबै विद्यार्थी सङ्गठनको सहमतिका आधारमा निर्वाचन प्रक्रिया अगाडी बढ्नेसमेत उनले जानकारी दिए ।

घोडाघोडी बहुमुखी क्याम्पसमा निर्वाचनकालागि यसअघि छ वटा सङ्गठन दर्ता भए पनि अखिल क्रान्तिकारीले  अन्य तीन सङ्गठनलाई समेटेर संयुक्त प्यानल एकातिर छ भने नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियु अर्को पक्षमा रहेका छन् ।