नयाँ वर्षमा धनगढी दौडिने 

सोमबार चैत १०, २०८१/ Monday 03-24-25
Paschim Today

धनगढी, ११ चैत।

धनगढी जेसिजले नयाँ वर्षका अवसरमा बैशाख १ गते  ‘अब धनगढी दौडिन्छ’ को एघारौं संस्करण आयोजना गर्ने भएको छ । 

सोमबार आयोजित पत्रकार सम्मेलनमा धनगढी जेसिजका अध्यक्ष लोकराज भट्टले विगतका वर्षहरुमा झै यस वर्ष पनि बैशाख १ गते  ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन आयोजना गर्न लागिएको जानकारी दिए ।

धनगढी जेसिजले सन् २०१४ देखि नयाँ वर्षको अवसर पारेर धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ भन्ने नाराका साथ हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दै आईरहेको छ ।

धनगढी हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड हुँदै पुनः धनगढी रंगशालामा पुगेर समापन हुने प्रतियोगिताका संयोजक दीपक गौतमले बताए ।

संयोजक गौतमले हाफ म्याराथनको विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने बताए । त्यस्तै प्रतियोगिता अन्तर्गत महिलातर्फ तथा कर्पोरेट र पत्रकारका लागि ५ किलो मिटरको दौड पनि आयोजना गरिने संयोजक गौतमले बताए । दुई वटै विधाका विजेताले नगद ७ हजार ५ सय, उपविजेताले नगद ५ हजार र तेस्रो हुनेले नगद २ हजार ५ सय प्राप्त गर्ने संयोजक गौतमले बताए।

‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन मान्यता प्राप्त दौड प्रतियोगिता हो ।