सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : महिला विधाको वर्ष खेलाडी मनोनयन सार्वजनिक
-1742817840_rySw12uxge_3dm1illqub69k76uv3j2gpcwguitvw2sqerkitnws4yjv8djumrjvqw9m1q5_JJmvcfagkn_3qqrmn3viuymrgktm2l1d2ijtefekhtxpth6lvjbdamj2zazzaykh3rnpwzq2025-03-24-07-41-36.jpeg)
धनगढी : धनगढीमा यही चैत १९ गते आयोजना हुने ‘छैटौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ को वर्ष खेलाडी महिला विधाको मनोनयन आज सार्वजनिक गरिएको छ ।
खोखोकी मानमती धामी, कबड्डीकी मानमती विष्ट र बक्सिङकी स्वस्तिका तिरुवा वर्ष खेलाडी महिलाको मनोनयनमा परेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । छनोट समितिका संयोजक सीताराम ओझाले खोखोकी धामी प्रथम विश्वकपको महिलातर्फ नेपाललाई उपविजेता बनाउने खेलाडी रहेको जानकारी दिए ।
उक्त विश्वकपमा उनी दुई खेलमा वेष्ट अट्याक, एकपटक वेष्ट प्लेयर र वेष्ट डिफेन्डरको उपाधि जित्ने खेलाडी हुन् । बक्सिङकी तिरुवा बहराइनमा भएको आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपाललाई स्वर्ण पदक जिताउने खेलाडी हुन् । कबड्डीकी विष्ट नेपाललाई एसियन महिला कबड्डी च्याम्पियनसिपमा पहिलोपटक कास्य पदक जिताउने कप्तान हुन् । इरानमा भएको छैटौँ एशियन महिला कबड्डी च्याम्पियनसिपमा उनले नेपाली महिला टोलीलाई दुई दशकपछि कास्य पदक दिलाएकी थिइन् ।
स्पोट्स अवार्डमा आठ विधामा अवार्ड प्रदान गर्न लागिएको छ । यसअघि नै सुदूरपश्चिम आइकन पुरुष र महिला तथा वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन् । वर्ष प्रशिक्षकको मनोनयमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छन् ।
सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेकी छन् ।
उत्कृष्ट खेलाडी पुरुष तथा महिला विधाका विजेतालाई जनही रु ३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई रु ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई जनही रु २५ हजारले पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले जानकारी दिनुभयो ।
सुदूरपश्चिम आइकन महिला तथा पुरुष विधाका विजेतालाई जनही रु २० हजारसहित ट्रफी प्रदान गर्न लागिएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रबर्द्धक रहेको स्पोट्स अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) धनगढीले गरेको छ ।
मञ्चले बर्सेनि स्पोट्स अवार्डमार्फत उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गर्ने गरेको छ ।
तपाईको प्रतिक्रिया