संक्रमणकालिन आयोगमा पदाधिकारी छान्न नयाँ समिति बन्ने

काठमाडौं । प्रमुख तीन दलका नेताहरू सङ्क्रमणकालीन न्याय सम्बन्धी आयोगहरूमा पदाधिकारी सिफारिसका लागि नयाँ समिति गठन गर्न सहमत भएको प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्याय सल्लाहकारले बताएका छन्।
सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली सहित नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमवार अपराह्न छलफल भएको थियो। प्रधानमन्त्री ओलीले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य नियुक्तिका लागि समिति बनाउने प्रक्रिया अघि बढाउन छलफल गरेका थिए।
“अब सिफारिस समिति गठनको प्रक्रिया अघि बढ्छ,” प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले बैठकपछि भने। यसअघि गठन भएको यस्तै समितिले निर्धारित समयभित्र पदाधिकारीहरूको नाम सिफारिस गर्न नसकेपछि सरकारले नयाँ समिति गठनको गृहकार्य अघि बढाएको हो। दुवै आयोगमा अध्यक्ष र सदस्य सहित पाँच-पाँच जना पदाधिकारी रहने व्यवस्था छ।
समितिले गरेको सिफारिसका आधारमा सरकारले दुवै आयोगका प्रमुख र सदस्यहरू नियुक्त गर्ने कानुनी व्यवस्था छ। गत अगस्टमा संसद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरेपछि दुवै आयोगको काम अघि बढाउन लामो समयदेखि रहेको कानुनी रिक्तता पूर्ति भएको थियो।
तपाईको प्रतिक्रिया