पूर्वराजा ज्ञानेन्द्रले गरे काठमाडौं महानगरको जरिवाना अस्वीकार

कानुनी प्रक्रियाबाट उठाउने तयारी

आइतबार चैत १६, २०८१/ Sunday 03-30-25
Paschim Today

काठमाडौं : काठमाडौं महानगरपालिकाले तीनकुनेमा भएको तोडफोड र फोहोर व्यवस्थापन खर्चबापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई करिब आठ लाख जरिवाना तोकेको छ। तर, निर्मल निवासले उक्त जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि महानगर कानुनी प्रक्रियाबाट असुल गर्ने तयारीमा लागेको छ।

गत शुक्रबार तीनकुनेमा उनकै उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो । उक्त पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई त्यहाँबाट फिर्ता पठाइएको छ ।

ज्ञानेन्द्र शाहले पत्र बुझ्न नमानेपछि टोली यत्तिकै फर्केको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । निर्मल निवासले जरिवानाको पत्र बुझ्न नमानेपछि काठमाडौं महानगरपालिकाले कानुनी प्रक्रियामा गएर भएपनि उठाउने भएको छ ।

‘हामीले दिएको पत्र बुझ्न नमानेपछि हाम्रो टोली फर्किएको छ । अब हामी प्रक्रियागत ढंगले असुलउपर गर्छौं,’ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने ।

उनका अनुसार नगर प्रहरीलाई निर्मल निवासको गेटमै रोकिएको हो । महानगरका कानुनी सल्लाहरका अधिवक्ता ओम प्रकाश अर्यालले पत्र बुझ्न नमाने पत्रीकामा सूचना निकाल्ने, हुलाक मार्फत चिठी पठाउन पनि सकिने बताए ।