अत्तरियामा पुरुष हत्या प्रकरण : नजिकै रहेको प्रहरी अनविज्ञ

धनगढी । अत्तरियाको दुर्गा मन्दिर परिसरमा बुधवार बिहान भेटिएको शव हत्या गरेर फालिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले मृतकको टाउकोमा ढुङ्गाले प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।
‘टाउकोको बायाँ भागमा गम्भीर चोट छ, आँखा समेत फुटेको अवस्थामा छ,’ उनले भने, ‘अनुहार चिन्ने अवस्था छैन। शव नजिकै रगताले भिजेको ढुङ्गा पनि भेटिएको छ।’ प्रहरीका अनुसार मृतकको उमेर अन्दाजी ३५ देखि ४० वर्षको हाराहारीमा देखिन्छ। उनको साथमा लुगा बाहेक अन्य कुनै परिचय खुल्ने सामान भेटिएको छैन।
शव मन्दिरको दक्षिण तर्फको प्राङ्गणमा फेला परेको भए पनि घटना मन्दिरभित्रै भएको प्रहरीको भनाइ छ। डिएसपी थापाका अनुसार, शव भेटिएको स्थानभन्दा करिब २० मिटर माथिल्लो भागमा रहेको मन्दिरको प्राङ्गण रक्ताम्मे अवस्थामा फेला परेको छ। ‘मन्दिरबाट शव तल घिसारेर फालिएको हुन सक्छ,’ उनले भने।
मन्दिरका पुजारी टिका दत्त पनेरुका अनुसार, उनी बिहान साढे ६ बजे मात्रै घटनाबारे जानकार भएका थिए। ‘हिजो साँझ साढे ७ बजे म मन्दिर बन्द गरेर गएको थिएँ,’ उनले भने, ‘आज बिहान साढे ५र६ बजे तिर मन्दिर पुगेपछि पतञ्जलि योग समितिका मानिसले शव छ भनेपछि थाहा पाएँ।’
घटना इलाका प्रहरी कार्यालयकै अगाडि रहेको मन्दिरमा भएको हुँदा पनि प्रहरी अनविज्ञ रहेकोप्रति स्थानीयले आक्रोश व्यक्त गरेका छन्। ‘सडकको पारिपट्टि रहेको मन्दिरमा यस्तो भयानक घटना हुँदा प्रहरीलाई थाहा नहुनु गम्भीर लापरबाही हो,’ एक स्थानीयले भने।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाएको छ। घटनाको विभिन्न पक्षबाट अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया