नयाँ वर्षमा अमेरिकाको मेरिल्याण्डमा कविता महोत्सव, लम्साललाई सम्मान

मेरिल्याण्ड, २ बैशाख ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मेरिल्याण्ड च्याप्टरको आयोजनामा अमेरिकाको मेरिल्याण्डमा कविता महोत्सव सम्पन्न भएको छ ।
नयाँ वर्षको अवसरमा अनेसासद्धारा आयोजित कविता महोत्सवमा बोल्दै मेरिल्याण्ड राज्यका डेलिगेट डा. हयारी भण्डारीले भाषा,संस्कृति र परम्परा जगेर्नाका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
डेलिगेट भण्डारीले यस्ता कार्यक्रमले युवापुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परा जोगाउन प्रेरित गर्ने बताए ।
उनले नेपालीहरुको पहिचान र अस्तित्वसंग जोडिएको भाषा र संस्कृतिको जगेर्नाका लागि आफूले मेरिल्याण्ड जनरल एसेम्वलीबाट दशैंको बील पास गरेको बताए ।
मदन पुरस्कार विजेता महाकाव्यकार तथा कवि डा. नवराज लम्सालले अनेसास र नेपाली स्रष्टाहरुले अमेरिकामा नेपाली भाषा, साहित्यको श्रीबृद्धि र संरक्षणका लागि पुर्याईरहेको योगदानको मुक्तकण्ठले प्रशंसा गरे ।
तपाईहरुले नेपाली भाषा, कला र संस्कृतिलाई आफ्ना सृजनाहरु मार्फत संसारभरी फैलाउनुभएको छ । नेपाली स्रष्टाहरुको प्रशंसा गर्दै लम्सालले भने, तपाईहरुले प्रवासमा रहेर गद्य, पद्य र आख्यान, गैर आख्यान जे सुकै सृजना गरे पनि त्यसमा नेपालीपन र माटोप्रतिको प्रेम भेटिन्छ ।
कार्यक्रममा अनेसासका वोर्ड अफ ट्रष्टिका उपाध्यक्ष तीर्थराज पाण्डेयले भाषा र साहित्यले साहित्यकारको भावना मात्र नवोलेर समाजको परिवेश र परिस्थिति पनि बोल्ने बताए । उनले थपे, प्रवासमा हामीहरुले जति पनि सृजना गरेका छौं,त्यसले नेपाली भाषाको सम्वद्र्धनमा मात्र टेवा नदिएर भावना पनि समेटिएको छ ।
पत्रकार मधुकर अधिकारीले नयाँ वर्षको मौसममा पालुवा परिवर्तन भए जस्तै प्रवासमा लेखिने सृजनाले नेपाली साहित्यमा नव पालुवाको काम गरेको बताए ।
कविता महोत्सवका सहभागी वक्ताहरुले शुभकामना आदान प्रदान गर्नुका साथै कविता वाचन समेत गरेका थिए ।
कार्यक्रममा कवि नवराज लम्साल, अशोक खाती, गण्डकी पुत्र, तारा खराल न्यौपाने,तीर्थराज पाण्डेय,नविन भट्टराई, पारस श्रेष्ठ,पुष्पा खनाल,प्रकाश नेपाल,प्रवीण भण्डारी,भिम विक्रम शाही,भैरव ढकाल, मधुकर अधिकारी,विष्णु वराल,वीरहादुर लोहनी,सहदेव कोईराला,समीर जोशी,सविता अधिकारी,सविता वस्नेत दानी,सुनिता वस्नेत,सृजना ढकाल,डा श्याम कार्की, डा. एच.बी. भण्डारी, हरिशरण कार्की, ज्ञानहरी घिमिरे, गोमा न्यापाने, निषेश कार्की, सतिश चापागाई लगायतका कविहरुले कविता वाचन गरेका थिए ।
कार्यक्रममा मेरिल्याण्ड राज्यको एशियन अमेरिकन प्यासिफिक आईल्याण्डर्स (एएपिआई)ले साहित्यकार लम्साललाई नेपाली भाषा र साहित्यको श्रीबृद्धिका लागि पुर्याएको योदानको कदर गर्दे सम्मान गरिएको थियो ।
साईटेशन ककसका अध्यक्ष डा. हयारी भण्डारीले साहित्यकार लम्साललाई कदर प्रदान गरे ।
तपाईको प्रतिक्रिया