चिसापानी–कुइने सडक क्षेत्रको रुख कटान आदेशका लागि सम्झौता

धनगढी । कैलालीको चिसापानी–कुइने सडक क्षेत्रमा परेको रुख कटान आदेशका लागि सम्झौता भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पहलमा वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान आदेशका लागि वन तथा वातावरण मन्त्रालय र सडक विभागबिच सम्झौता भएको हो ।
वन मन्त्रालयले लम्कीचुहा नगरपालिका–३ र मोहन्याल गाउँपालिका–७ मा पर्ने राष्ट्रिय वनको ८।९२ हेक्टर जग्गा प्रयोग एवम् त्यस क्षेत्रमा रहेको ४७२ वटा रुख हटाउनका लागि पनि सहमति गरेको छ ।
सङ्घीय सरकारले ७।२ किलोमिटर ठेक्का सदर गरे पनि रुख कटानीको आदेश नभएकाले कालोपत्रे सडक निर्माणको काम अगाडि बढ्न सकेको छैन । रुखले सडक निर्माण कार्य रोकेपछि मुख्यमन्त्री शाहले वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई सरोकारवाला निकायका प्रमुखहरूलाई भेटेर सडक निर्माणको काम अगाडि बढाउन आग्रह गरेका थिए।
चिसापानी–कुइने सडकको ७।२ किलोमिटर खण्डमा कालोपत्रेका लागि २०७९ साउन ३ गते ठेक्का भएको थियो । तर रुख कटानको आदेश नआउँदा काम अगाडि बढ्न सकेको छैन । रुख कटान आदेश नआउँदा कालोपत्रे सडक निर्माणको काममा ढिलाइ भइरहेको छ भने, आउँदो असारमा ठेक्काको समावधी पनि सकिँदै छ ।
चिसापानी–कुइने सडक भएर आठ जिल्लाका स्थानीयले तराईसम्म ओहोरदोहोर गर्ने गरेका जनाइएको छ । यो सडक नबन्दा उनीहरूले कठिन यात्रा गर्न बाध्य छन् । सो सडक निर्माणका लागि दिव्यज्योती–शाही जेभीले १२ करोड ८० लाख रुपियाँमा ठेक्का पाएको छ ।
तपाईको प्रतिक्रिया