सुदूरपश्चिमका मुख्यमन्त्रीसहितको टोली भारत जाँदै, १५ जनाको नाम दूतावासले काट्यो

कैलाली । सुदूरपश्चिम प्रदेश सभा बन्द छ । सत्तारुढ दल र प्रतिपक्षबीच सहमति हुन नसक्दा सरकारले प्रदेश सभा अधिवेशन अन्त्य गरेको थियो । प्रदेश सभा अधिवेशन अन्त्य गरेको सरकार अहिले भारत भ्रमणको तयारीमा जुटेको छ ।
आगामी १६ गतेदेखि २२ गतेसम्म मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत जान लागेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयको व्यवस्थापनमा मुख्यमन्त्रीसहितको टोली भारत भ्रमणमा जान लागेको हो ।
उक्त टोलीमा सरकारका तर्फबाट मुख्यमन्त्री शाहसहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा छन् । कांग्रेस र एमालेका मुख्यमन्त्री र मन्त्री परेको टोलीमा माओवादी केन्द्रबाट झपट साउद, नागरिक उन्मुक्ति पार्टीबाट घनश्याम चौधरी र नेकपा एकीकृत समाजवादीबाट नरेश बहादुर शाही छन् ।
मुख्यमन्त्रीसँग उनका राजनीतिक सल्लाहकार डा.जितु उपाध्याय र उनका स्वकीय सचिव रामबहादुर विष्ट पनि भ्रमण टोलीमा छन् । प्रदेश नीति तथा योजना आयोगका सदस्य शेरबहादुर विष्ट, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव पनि भ्रमण टोलीमा छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले २५ जनको टोलीलाई भारत भ्रमणमा लैजाने तयारी गरेको थियो । तर, दूतावासले १० जनाको मात्रै नाम स्वीकृत गरेपछि मुख्यमन्त्री शाहसहित १० जना भारत जाने भएका हुन् ।
‘२५ जना लैजाँदा उपयुक्त हुन्छ भनेर हामीले प्रस्ताव गरेका थियौँ । त्यसमा सबै पक्षको सहभागिता हुने थियो । तर, दूतावासले १० जनाको मात्रै व्यवस्थापन गर्न सक्ने भनेपछि सबै दल समेटिने गरि १० जनाको नाम उपलब्ध गराइएको हो’ मुख्यमन्त्रीका राजनीतिक सल्लाकार डा. उपाध्यायले जानकारी दिए ।
उनका अनुसार भारत भ्रमणका क्रममा कृषि ,पर्यटन र ऊर्जाको विषयमा छलफल र संवाद हुने छ । मुख्यमन्त्रीले केही दिन पहिले मात्रै मन्त्रिपरिषद् बैठकमा भारत भ्रमणबारे औपचारिक जानकारी दिएका थिए । तर, अहिलेसम्म पनि भारतका कुन कुन ठाउँमा टोलीले भ्रमण गर्ने र को कोसँग छलफल वा भेटघाट गर्ने भन्ने बारे टुङ्गो लागेको छैन ।
प्रदेश सभा अन्त्य गरेर सरकार भ्रमणको तयारी गरिरहेको भन्दै प्रतिपक्ष दल माओवादी केन्द्रले विरोध जनाएको छ । माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री ओम विक्रम भाट सरलले सामाजिक सञ्जालमै प्रदेश सरकारको भ्रमण तयारीबारे विरोध जनाएका छन् ।
‘सुदूरपश्चिम प्रदेश सरकार जोडिएको अडियो काण्ड र फजुल खर्च कटौतीको बिषयमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेको बेला सरकारले संसद् अधिवेशन अन्त्य गरेको कुरा विदितै छ ’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एकातिर भ्रष्टाचारमा सरकार मुछिएको छ भने अर्कोतिर बजेट कार्यान्वयन गर्न सकिरहेको छैन । यसै समयमा प्रदेश सरकारका मुख्यमन्त्रीको नेतृत्वमा जम्बो टोली १० दिने भारत भ्रमणमा जाँदै छ । ’
उनले भ्रमणको औचित्यमाथि पनि प्रश्न गरेका छन्। ‘यसको औचित्य के हो पुष्टि गर्नुपर्छ कि पर्दैन रु संसद् आह्वान गरेर संसद्लाई जानकारी गराउनुपर्छ कि पर्दैन ? वर्तमान शाह नेतृत्वको प्रदेश सरकार छानबिन र जबाफदेहिताबाट निरन्तर भागिरहेको छ । त्यसकारण सबैले खबरदारी गरौँ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
तपाईको प्रतिक्रिया