वार्षिक उत्सवको अवसरमा नेत्रेश्वरीले बाड्यो खाद्यान्न

बिहीबार बैशाख ११, २०८२/ Thursday 04-24-25
Paschim Today

काठमाण्डौँ,१० बैशाख ।
नेत्रेश्वरी ईञ्जिनियरिङ कन्सल्टेन्सी प्रा.लि काठमाण्डौंले नवौं वार्षिकोत्सवका अवसरमा असहाय तथा आश्रित व्यक्तिहरुलाई सहयोग गरेको छ ।।

नेत्रेश्वरी प्रा.लिले मानव सेवा आश्रम रानीबन काठमाण्डौलाई खाद्यान्न र नगद सहयोग गरेर वार्षिक उत्सव मनाएको हो । आश्रममा दुई सय भन्दा बढि असहाय बृद्धबृद्धाहरु रहेका छन् । 

उनीहरुका लागि नेत्रेश्वरीले चामल तीन बोरा, ५ केजी दाल, आँटा दश केजी, एक कार्टुन तेल, विस्कुट दुई कार्टुन, ५ केजी आलु र ३ हजार ५ रुपैया रकम प्रदान गरिएको कम्पनी सञ्चालक भक्तराज जोशीले बताए ।

योसँगै कम्पनीले सितापाइलामा रहेको आफ्नै कार्यालयमा शुभकामना आदानप्रदानका साथै कम्पनीको प्रगतीबारे समिक्षा गरेको थियो । 

उक्त कम्पनीले हाल सम्म १ सय ६५ भन्दा बढि खानेपानी आयोजनाको डीपीआर, ५ भन्दा बढि रोड आयोजनाको डीपीआर, १० भन्दा बढि ढल आयोजना डीपीआर, ५ भन्दा बढि पुल आयोजना, ५ भन्दा बढि सिचाई आयोजना, १ भन्दा बढि फोहोर ब्यबस्थापन आयोजक एबम बिभिन्न अनुसन्धानमुलक कार्य डिपिआर कार्य गरेको छ । यसका साथै मास्टर प्लान पनि गरेको छ भने यस अन्तर्गत बिभिन्न जिल्लाहरुमा काम गर्दै सफलताका साथ काम सम्पन्न गरेको छ ।

कम्पनीबाट इन्जीनियरिङ सम्बन्धि सवै किसिमका काम र परामर्श सेवा समेत दिइदै आएको छ । आगामी दिनहरुमा इन्जीनियरिङ सम्बन्धि कामलाई थप प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने सञ्चालक जोशीको भनाई छ । जोशीले भने, ‘यहाँसम्म आउनमा सल्लाह सुझाव र साथ सहयोग गर्नु हुने सम्पुण बौद्धिक व्यक्तित्वहरू, स्थानीय अधिकारीहरू, विशिष्ट व्यक्तिहरू, सल्लाहकारहरू विगत र वर्तमानसम्मका कर्मचारीहरु प्रति हार्दिक आभार प्रकट गर्दछु ।’

सञ्चालक जोशी विगत ११ वर्षदेखि इन्जीनियरिङ क्षेत्रमा काम गर्दै आएका व्यक्ति हुन् । उनी सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् ।