कैलालीमा जन्डिस छ भन्दै सुई लगाएको केही मिनेटमै निधन एक युवकको

कैलाली। कैलालीमा एक युवकको स्थानीय मेडिकलमा जन्डिसको सुई लगाएको दुई मिनेटमै निधन भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका-८ का ३५ वर्षीय निरजबहादुर शाहीको जन्डिस छ भन्दै सुई लगाएको केही समयमै निधन भएको हो।शाही सोमवार बिहान टाउको दुखेपछि नजिकै रहेको दहित मेडिकलमा पुगेका थिए। उक्त मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महावीर चौधरीले जन्डिस छ भन्दै सुई लगाएको केही समयमै शाहीको निधन भएको जनाईएको छ।
झाडापखालको उपचार गराउन गएका अर्का खडक बहादुर साउँदले भने, ‘मलाई सलाइन चढाएपछि निरज भाईलाई एउटा इन्जेक्सन दिइएको थियो। इन्जेक्सन दिने बित्तिकै खोक्न थाल्नुभयो। खोक्दा खोक्दै मुखबाट फिँज आयो। एकछिनमा छटपटिन थाल्नुभयो। बिरामीको अवस्था एक्कासि छटपटिएको देखेपछि साउँदले के भयो भन्दै प्रश्नगर्दा असिस्टेन्ट चौधरीले कसैकसैलाई इन्जेक्सनले यस्तै असर गर्ट भन्दै मुखबाट कृतिम श्वास दिने प्रयास गरेपनि उनको मृत्यु भइसकेको उनले बताए।
मृतक शाहीका ससुरा रामबहादुर शाहीले बिहानसँगै खाजा खाएर ज्वाई टाउको दुखेको छ भन्दै मेडिकल गएको बताए। एकै छिनमा मृत्युको खबर सुन्न पर्यो। केही नभएको मेरो ज्वाईको मृत्यु कसरी भयो ? सुइलगाउने मान्छे किन भाग्यो ? हामीलाई न्याय चाहिन्छ।’.निरजको निधन भएको केही क्षणमै ल्याब असिस्टेन्ट चौधरी भागेका छन्।
घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय सुखडबाट कार्यालय प्रमुख तथा डिएसपी रमेश अवस्थीको नेतृत्वमा १० जना प्रहरी घटनास्थलमा खटिएका छन्। फरार चौधरीको खोजी कार्य भइरहेको मेडिकल सञ्चालक ईन्द्र दहितले बताए। शव पोष्टमार्टमका लागि पठाउने तयारी भएको डिएसपी अवस्थीले बताए।
तपाईको प्रतिक्रिया