हावाहुरी र असिनासहितको बर्षाले बैतडीमा एकजना घाइते , विभिन्न स्थानमा क्षति

बैतडी – हावाहुरी र असिनासहितको बर्षाले बैतडीमा एकजना घाइते भएका छन् । सोमबार बेलुका हावाहुरी र असिनासहितको बर्षाले विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
हावाहुरीका कारण सिँगास गाउँपालिका–२ मैतडका विष्णु बोहराको दुईतले जस्तापाताले छाएको घरको छाना उडाएको छ । छाना उडाउँदा जस्तापाताले लागेर घरभित्र रहेका बोहराका १४ बर्षीय छोरा टेकेन्द्र बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए । टेकेन्द्रको टाउकोमा चोट लागेको र उनको अवस्था सामान्य रहेको उनले बताए ।
यस्तै सिगास –५ खैरकोट, सल्याली, ढुङ्गाडका केही घरमा पनि हावाहुरीले क्षति पुगेको छ ।
पाटन नगरपालिका–८ धारीमा एकतले जस्तापाताले छाएको सामुदायिक भवनको छानो उडाएको छ । उक्त भवनको छानो उडेर नजिकै रहेको विनोद महराको घरबाहिर बाँधेको पाडोलाई लागेर मृत्यु भएको प्रहरी निरीक्षक बडूले बताए ।
यस्तै हावाहुरीले रुख ढल्दा डिलाशैनी गाउँपालिका–६ नेगाउँस्थित निङ्गलाशैनी आधारभूत विद्यालयको शौचालयमा क्षति पुगेको छ । यस्तै हावाहुरीले शौचालयको छानो समेत उडाएको स्थानीयले बताएका छन् ।
यस्तै हावाहुरीले पाटन नगरपालिका–६ स्थित सरस्वती आधारभूत विद्यालय पन्त्यौडाको छानो उडाएको छ । भवनको छानो उडाएपछि पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ ।
असिनापानीले फलफूल र तरकारी बालीमा क्षति पुगेको किसानहरुले बताएका छन् । असिनाका कारण तरकारी र फलफूलमा क्षति पुर््याएको दशरथचन्द नगरपालिका–१ का महेश भट्टले बताए ।
यस्तै हावाहुरीले रुख ढल्दा विद्युतको पोल र तारमा क्षति पुगेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । अवरुद्ध विद्युत सेवा सुचारु गर्ने प्रयास भइरहेको उनले बताए ।
तपाईको प्रतिक्रिया