अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ सकियो
बुधबार जेठ २२, २०८२/ Wednesday 06-04-25
Paschim Today

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको अपहरण तथा हत्यासम्बन्धी मुद्दामा सुनुवाइ सकिएको छ। सुनुवाइ सकिएकाले आजै आदेश आउने सम्भावना छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, डा.मनोजकुमार शर्मा र डा. कुमार चुडालको संवैधानिक इजलासमा सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ सकिएको हो।काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप सापकोटामाथि छ।
संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीनवटा मुद्दा छन्। अर्जुनकी पत्नी पूर्णमाया लामा, कनकमणि दिक्षित र सुशील प्याकुरेलसहित ८ जनाले सापकोटाविरुद्ध मुद्दा दायर गरेका थिए। विसं २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव फेला परेको थियो।
लामाकी पत्नी पूर्णमायाले आफ्ना श्रीमानको हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै विसं २०६९ मंसिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन्। सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो।
तपाईको प्रतिक्रिया