बाजुराको बाम्कामा तार जलेपछि इन्टरनेट सेवा अवरुद्ध

बाजुरा : बाजुराको बूढीगङ्गा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा एक होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी भएपछि यहाँको इन्टरनेट सेवा अवरुद्ध भएको छ।
साँफे–मार्तडी राजमार्गमा पर्ने बाम्का बजारमा शुक्रवार नवदुर्गा होटलमा ग्यास पड्किएर आगलागी हुँदा इन्टरनेटको तार जलेपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुरा शाखाले जनाएको छ। बाम्का बजारमा आगलागी भएपछि विद्युत्को तारसँगै इन्टरनेटको पनि जलेको नेपाल टेलिकम बाजुराका प्राविधिक गङ्गाराम जैशीले बताए।
टेलिकमको तार जलेको डडेल्धुरामा खबर गरिसकेको छ। मर्मत टोली आइतवारसम्म आइपुग्ने टेलिकमका प्राविधिक जैशीले बताए। त्रिवेणी नगरपालिका र बूढीगङ्गा नगरपालिकामा विस्तार गरिएका तार जलेर नष्ट भएको छ भने मार्तडीको इन्टरनेटमा पनि खराबी आएका कारण इन्टरनेट सेवा सञ्चालन हुन नसकेको जैशीले बताए। इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्लाका सञ्चारमाध्यम र सरकारी तथा वित्तीय संस्थाहरूको काम प्रभावित बनेको छ।
तपाईको प्रतिक्रिया