मुम्बईमा नेपाली प्रवासी परिवारको दोस्रो बैठक सम्पन्न

मुम्बई, नेपाल परिवार दलको निकट नेपाली प्रवासी परिवार मुम्बई महाराष्ट्र उल्लासनगरको दोस्रो बैठक तथा अन्तरक्रिया कार्यक्रम २०८२ जेठ २७ गते सम्पन्न भएको छ। कार्यक्रम मुम्बई महाराष्ट्र भारतका अध्यक्ष रबि सिँहको अध्यक्षतामा आयोजना गरिएको हो।
कार्यक्रममा नेपालबाट आएका परिवार दल सुदूरपश्चिम प्रदेशका संयोजक खडक नागरी प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै, प्रवासमा सक्रिय शिवसेना मुम्बई उल्लासनगरका इन्चार्ज कालु थापा, राज रोक्का, तथा अन्य सामाजिक अभियन्ता, बुद्धिजीवी, र स्थानीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष रबि सिँहले नेपाली प्रवासी समुदायलाई धन्यवाद दिँदै, संगठनको भिजन र अभियानप्रति समुदायको सकारात्मक प्रतिक्रिया आएको जानकारी दिए। उनले समितिलाई अझ सक्रिय र तीव्र गतिमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख अतिथि खडक नागरीले भारतमा विशेषगरी सुदूरपश्चिमका साथै केही पूर्वी जिल्लाका नेपालीहरूको बसोबास रहेको जानकारी पाएपछि नेपाल सरकारको ध्यान आकर्षित गर्दै युवाहरूलाई विदेशिनु नपर्ने वातावरण तयार पार्नुपर्नेमा जोड दिए। उनले स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै, प्रवासी समुदायको अनुभव र क्षमतालाई उपयोग गर्न सकिने बताए।
संयोजक नागरीले शिक्षा तथा सामाजिक सेवाको क्षेत्रमा समितिले जिम्मेवार भूमिका निर्वाह गर्ने बताए। “सुदूरपश्चिमका गरिब, जेहेन्दार, दलित, थारु, मुस्लिम, वबिसी र अन्य जनजातिका विद्यार्थीहरूका लागि छात्रावास र छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्नेछौं। पीडित र बिपन्न वर्गका लागि समितिले अभिभावकको भूमिका खेल्नेछ,” उनले स्पष्ट पारे।
कार्यक्रमले प्रवासी नेपालीबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वबारे जागरूकता फैलाउने उद्देश्य राखेको थियो।
तपाईको प्रतिक्रिया