कैलाली कारागारमा पाली मृत्यु प्रकरण : प्रहरीका सई पक्राउ

कैलाली । कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु प्रकरणमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सई हरजीत नाथलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा सई नाथलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी दिए ।
सई जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत छन्, उनको नाममा मृतकका आफन्तले किटानी जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान भइरहेको छ, आज नै हो, उनलाई नियन्त्रणमा लिएको, डिएसपी सिंहले भने ।
पालीमाथि बैङ्किङ कसुर मुद्दा दर्ता गरिएको थियो, जुन मुद्दाका वादी स्वयं सई नाथ थिए। जिल्ला अदालतले २०८० साल फागुनमा उनलाई १० दिन कैद र २ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
डडेल्धुराबाट २९ जेठमा पक्राउ परेका पालीलाई ३० गते धनगढी ल्याइएको र अदालतमा पेस गरी असार १ गते जेल चलान गरिएको थियो । तर, असार २ गते राति, पाली कारागारको बाथरुम नजिक अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल सेती प्रादेशिक अस्पताल पुर्याइए पनि सोही राति उनको मृत्यु भयो ।
मृतककी श्रीमती जानकी साउँदले सई नाथसहित पाँच जनाविरुद्ध योजना बनाएर कारागारभित्र हत्या गरिएको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । तर, प्रहरीले जाहेरी सच्याउन भनेपछि पछि उनले नाथविरुद्ध मात्र जाहेरी दर्ता गराएकी हुन् ।
पोष्टमार्टमपछि मात्रै शव बुझ्ने अडान लिएको परिवार पक्ष, सई नाथ पक्राउ परेपछि शव बुझ्न तयार भएको छ । शवको परीक्षण सेती प्रादेशिक अस्पतालमै सम्पन्न गरिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया