धनगढीमा कोठामै हत्या गरिएकी युवती खानेपानीकी कर्मचारी, युवकसँग लिभिङ टुगेदरमा थिइन्

धनगढी। धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीमा कोठामै हत्या गरेको अवस्थामा फेला परेकी ३० वर्षीया रेणु चौधरी खानेपानीकी कर्मचारी भएको खुलेको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्ती स्थायी घर भएकी चौधरी खानेपानी संस्थान धनगढीकी कर्मचारी रहेको खुलेको हो ।
संस्थानमा उनी कार्यालय सहयोगी पदमा कार्यरत थिइन् ।
चौधरी बिहीबार धनगढी उपमहानगरपालिकाले आयोजना गरेको पानीको गुणस्तर सम्बन्धी तालिममा गएकी थिइन् । शुक्रबार कार्यालय फर्किनुुपर्नेमा उनी आएकी थिइन् । खानेपानी संस्थान स्रोतकाअनुसार उनी शुक्रबारदेखि नै सम्पर्कमा थिइनन् ।
प्रहरीकाअनुसार उनी विगत दुई महिनादेखि एक युवकसँगै त्यो घरमा बस्ने गरेकी थिइन् । तर युवकको परिचय भने खुलेको छैन ।
शव गन्ध आएको अवस्थामा भेटिएका कारण उनको केही दिनअघि हत्या भएको आशंका प्रहरीले गरेको छ । गन्ध आएपछि घरधनीले झ्यालबाट चौधरीको कोठामा हेर्दा उनी मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले युवतीको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको पाइएको बताए । उनकाअनुसार चौधरीको घाँटीमा धारिलो हतियार प्रहार भएको छ भने कन्चटमा पनि चोट देखिएको छ ।
प्रहरीले घटनास्थल सिल गरेर अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट चौधरीको हत्या भएको देखिएपछि प्रहरीले अनुसन्धानमा तालिमप्राप्त कुुकुर समेत प्रयोग गरेको छ ।
प्रायजसो कहिलेकहीँ मात्र देखिने युवक को हुन् ? भन्ने कुरा भने खुलेको छैन । घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर प्रकृति हेर्दा उनको कोठामै हत्या गरेर बाहिरबाट ताल्चा लगाएर अभियुक्त फरार भएको देखिएको प्रहरीको भनाई छ ।
तपाईको प्रतिक्रिया