घोडाघोडीबाट एमाले नेताहरूको संयुक्त आह्वान -मदन भण्डारीको विचार आत्मसात गर्दै संगठनलाई एकताबद्ध बनाऔं

आइतबार असार १५, २०८२/ Sunday 06-29-25
Paschim Today

कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले जननेता मदन भण्डारीको विचार र सिद्धान्तलाई आत्मसात गर्दै पार्टीभित्र एकता र अनुशासन कायम राख्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसन कैलालीले घोडाघोडी नगरपालिका सुखडमा आयोजना गरेको ‘जनतासँग जबजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता भट्टले पार्टीभित्र देखिएको असहमति र गुटबन्दीलाई समाधान गरी संगठनलाई सबल बनाउनुपर्ने बताए।

‘हामीले जबज भनिरहेका छौँ, त्योअनुसार चलिरहेका छौँ कि छैनौँ भन्ने समीक्षा गर्नु जरुरी छ’, उनले भने, ‘कैलाली कमजोर हुँदा सिंगो सुदूरपश्चिम प्रभावित हुन्छ । गुट होइन, टीम बनाउनु जरुरी छ ।’

पूर्वमाओवादी पृष्ठभूमिलाई लिएर उठ्ने आलोचनाको जवाफ दिँदै उनले जनयुद्ध कुनै आयातित विचार नभई तत्कालीन आवश्यकता भएको स्पष्ट पारे।

‘ममाथि गाली गर्नुहोस्, तर शहीदलाई आतङ्ककारी भन्नु अपमान हो’, उनले भने ।

२०७९ सालको निर्वाचन स्मरण गर्दै नेता भट्टले भने, ‘इमानदारीका साथ मत हालेको भए हामी १० स्थानमा थप जित्थ्यौँ र कांग्रेसभन्दा ठूलो पार्टी बन्थ्यौँ ।’

नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले विचार र निष्ठामा आधारित नेतृत्वको आवश्यकता औंल्याए । ‘गुट र पदलालसाले कम्युनिष्ट आन्दोलन दिशाहीन हुँदै गएको छ’, थापाले भने, ‘सही कुरा बोले टिकट खोसिन्छ कि भन्ने डरले पार्टी विचार होइन, भय र लोभले चलिरहेको छ ।’

एमाले पोलिट ब्युरो सदस्य तथा कैलाली जिल्ला इञ्चार्ज नारदमुनि रानाले मदन भण्डारीको नीति र सिद्धान्तलाई व्यवहारमा उतार्न सबैले गम्भीर प्रयास गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा सुप इञ्चार्ज हरदेव जोशी, महेश्वर पाठक, हरिशंकर योगीले मदनको विचारअनुसार अघि बढ्नसके पार्टी बलियो र एकताबद्ध बन्ने विश्वास व्यक्त गरेका थिए । केन्द्रीय सदस्य गौरीशङ्कर चौधरी र सन्तोष शर्मा थापा पनि कार्यक्रममा उपस्थिति थिइन् ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत कैलालीका विभिन्न पालिका र अस्पतालमा वृक्षरोपण तथा रक्तदान कार्यक्रम भएको जनाइएको छ । सोही अवसरमा मदन आश्रित पुस्तकालयको उद्घाटन पनि सचिव लेखराज भट्टले गरेका थिए ।

कार्यक्रममा पार्टी  निर्माणमाअहोरात्र खटिएका ३४ जना एमाले नेता कार्यकर्ताहरूलाई सम्मान गरिएको थियो। लामो समय पार्टी निर्माणमा खटिएर ओझेलमा रहेकाहरूले  पार्टीले मूल्याङ्कन गरेर सम्मान गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।