‘ऊनको स्वीटर’ ले मनायो ५१ दिने उत्सव

आइतबार असार १५, २०८२/ Sunday 06-29-25
Paschim Today

काठमाडौं– व्यवसायिक रुपमा सफलता हासिल गरेको नेपाली फिल्म ऊ‘नको स्वीटर’ ले शनिवार साँझ काठमाडौंमा आफ्नो सफल प्रदर्शनको ५१ दिने उत्सव मनाएको छ ।

देशभरका करिब ४० वटा सिनेमा हलमा ५१ औँ दिन सफलतापूर्वक प्रदर्शन पूरा गरेको यो फिल्मको सफलता साट्न आयोजित कार्यक्रममा फिल्म युनिट, शुभ चिन्तक, लगातार ५१ दिनसम्म प्रदर्शन गरिरहेका सिनेमा हलका प्रतिनिधि, वितरकहरू तथा पत्रकारहरूको उपस्थिति थियो ।

कार्यक्रममा फिल्म युनिट, सिनेमा हलहरू तथा स्वदेशी तथा ओभरसिज वितरकहरूलाई निर्माता संस्था आर्टमाण्डुका निर्देशक एवं ‘ऊनको स्वीटर’ का निर्देशक नवीन चौहान, निर्माणमा सहकार्य गरेको केन्द्र मोशन पिक्चर्सका सञ्चालक केन्द्र लिम्बु, कार्यकारी निर्माताहरू मिलन खत्री र सागर बुढाथोकी लगायतले प्रशंसा पत्र प्रदान गरे ।

उक्त अवसरमा विभिन्न पोस्टरहरूद्वारा सजाइएको तीन तले केक काटेर उत्सव मनाइएको थियो । निर्देशक नवीन चौहान तथा कलाकारहरू विपिन कार्की र मिरुना मगरले सबै दर्शक, शुभचिन्तक तथा समर्थकहरूलाई धन्यवाद व्यक्त गरे । निर्देशक चौहानले फिल्मले पाएको मायाले आगामी दिनमा अझ राम्रो काम गर्न प्रेरित गरेको भन्दै खुसी व्यक्त गरे ।