भारी वर्षा, कमजोर निकास — धनगढी डुबानको पौराणिक कथा

मंगलबार असार १७, २०८२/ Tuesday 07-01-25
Paschim Today

आइतबार रातिदेखि निरन्तरको वर्षाका कारण सोमबार धनगढी उपमहानगरपालिकाको बजार क्षेत्रका अधिकांश स्थान डुबानमा परेका छन् । वर्षाका कारण धनगढी उपमहानगर र गोदावरी नगरपालिकामा गरी ७ सय १ घरधुरी प्रभावित भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार धनगढी–७ र १३ मा मोहना नदीको बाढी पसेर जलमग्न भएको छ । धनगढीका अन्य वडा ढल निकास हुन नपाउँदा घरभित्र पानी पसेर चटकपुरमा २० घर, श्रीलंका, राजपुरमा २०, विद्युत कार्यालयनजिक ३०, टिकलियानी, मिलनचोक पछाडि ६०, तारानगरमा २०, त्रिवेणीघाट नजिक १ घर र सबैभन्दा बढी शिवनगरमा १ सय घर प्रभावित भएका छन् । उता गोदावरी नगरपालिका–४ मा २ सय र वडा ५ मा २ सय ५० घरधुरी प्रभावित भएका छन् ।

सोमबार रातिसम्म पनि वर्षा भइरहेको छ । प्रभावितका क्षेत्रको अधिकांश घरको भुईँ तलामा पानी पसेको स्थानीयले बताएका छन् । धनगढी–७ बेलीका डुबानले पूर्ण रुपमा विस्थापित एक घरका ४ जनालाई सुरक्षित स्थानमा सारिएको छ । पछिल्लो २४ घण्टामा धनगढी विमानस्थल क्षेत्रमा २१३.२ मिलिमिटर र कञ्चनपुरमा २७१ मिलिमिटर वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागको तथ्यांकमा छ ।

सोमबार साँझ ५ बजेको मापन अनुसार कैलालीका प्रमुख नदीहरुमा जलस्तर खतराको तह भन्दा तलै छ । कर्णाली नदीमा जलस्तर बढ्दो भए पनि खतराको तह पार नगरेको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढी बजार क्षेत्र प्रत्येक वर्ष बर्खामा डुबानमा पर्छ । सामान्य वर्षाले पनि मुख्य बजार क्षेत्रको रातोपुल, हसनपुर, शिवनगर, विशालनगर, क्याम्पस रोडलगायतका स्थान जलमग्न हुन्छन् । जसका कारण बस्ती, सडक, स्वास्थ्य सेवा र विद्यालय प्रभावित हुन्छन् ।

वर्षाको पानी निकासका लागि उपयुक्त ढलको नभएको र खोलानाला अतिक्रमणका कारण यस्तो समस्या भोग्नु परेको उपमहानगर क्षेत्रका बासिन्दा बताउँछन् । स्थानीय सरकारले ढल निकासको उचित व्यवस्था गरे डुबानबाट छुटकारा मिल्ने अपेक्षा गरे पनि पुनः त्यस्तै समस्या दोहोरिएको उनीहरूको गुनासो छ । गत वर्ष भन्दा यो वर्ष कम पानीमै धनगढी बढी प्रभावित भएको छ । सोमबार राति पनि वर्षा भए धेरै बस्तीमा डुबानको जोखिम बढ्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

कैलाली होचो क्षेत्र भएकाले डुबानको समस्या बढी हुने गरेको उनी बताउँछन् । उनका अनुसार कैलालीमा टीकापुर र भजनी नगरपालिका, जानकी गाउँपालिकामा बाढी र पहाडी क्षेत्रमा पर्ने चुरे र मोहन्याल गाउँपालिका बलौटे माटो भएका कारण पहिरोको उच्च जोखिममा पर्छन् । कैलालीमा चुरेबाट निस्केका मोहना, कनरी, कान्द्रा, पथरैया, काढालगायत नदीको बाढी बस्तीमा पस्ने गरेको छ । तर, धनगढी र गोदावरी क्षेत्रमा भने अनियन्त्रित बसाइँसराइ र अव्यवस्थित सहरीकरणले ढल निकास हुन नपाउँदा डुबानको समस्या बढिरहेको सूचना अधिकारी जोशी बताउँछन् । प्रदेशको अस्थायी राजधानी रहेको धनगढीमा बाढी तथा डुबान रोक्न ठोस दीर्घकालीन योजना न प्रदेशसँग छ न स्थानीय तहसँग । कैलालीमा डुबान समस्याको दीर्घकालीन समाधानका लागि उचित निकास हुने ढल, व्यवस्थित बस्ती र खोलानाला अतिक्रमण रोक्न तीनै तहका सरकारको समन्वय आवश्यक भएको सूचना अधिकारी जोशी बताउँछन् ।