बैतडीमा एसइई नतिजामा सुधार

धनगढी: कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा ४० दिनदेखि प्रशासनिक तथा आर्थिक कामकाज ठप्प भएको छ।
डीडीसीलाई धनगढी सार्ने निर्णयविरुद्ध स्थानीयले गरेको तालाबन्दीका कारण कार्यालयको सेवा अवरुद्ध भएको हो। २०६७ सालमा अत्तरियामा स्थापना भएको डीडीसीलाई अन्यत्र सार्न नहुने मागसहित स्थानीयले जेठ ८ गतेदेखि कार्यालयमा तालाबन्दी गरेका थिए।
डीडीसी अत्तरियाका प्रमुख निरञ्जन भट्टराईका अनुसार प्रशासनिक काम ठप्प हुँदा किसानको भुक्तानीसमेत रोकिएको छ। 'हामीले दूध संकलन र बिक्री भने गरिरहेका छौं, तर पुरानो भुक्तानी र तालाबन्दीपछि जम्मा ७ करोड रुपैयाँ किसानलाई तिर्न बाँकी छ,' उनले भने।
तालाबन्दी खोल्ने प्रयास गरिए पनि आन्दोलनरत पक्षले डीडीसी नसार्ने लिखित प्रतिबद्धता माग गरेकाले सहमति हुन नसकेको भट्टराईले बताए। “प्रतिबद्धता मागियो, तर त्यो मेरो तहको कुरा होइन,” उनले स्पष्ट पारे।
यसबीच, गोदावरी नगरपालिकाले डीडीसीलाई कार्यालय सार्न सकिने भन्दै गोदावरी नगरपालिका–१ को वडा कार्यालय नजिक, खैराना र बास्कोटा गरी तीन स्थानको जग्गा प्रस्ताव गरेको छ। नगर प्रवक्ता गोपाल दत्त भट्टका अनुसार डीडीसीका उपमहाप्रबन्धकलाई तीनवटै स्थान अवलोकन गराइएको भए पनि कुन स्थान रोज्ने भन्नेबारे डीडीसीले हालसम्म प्रतिक्रिया नदिएको बताए।
डीडीसी संरक्षण संघर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले डीडीसी नसार्ने लिखित प्रतिबद्धता प्राप्त भए लगत्तै तालाबन्दी खोल्ने बताएका छन्। 'नगरपालिकाले तीनवटै ठाउँमा जग्गा देखाएको छ, भवन पनि बनाइदिने भनेको छ, तर डीडीसीले बेवास्ता गरिरहेको छ,' पाण्डेले भने।
यसअघि, पुस १७ गते डीडीसी अत्तरियामा राख्ने सहमति अनुरूप गोदावरी नगरपालिकाका प्रवक्ता भट्टको संयोजकत्वमा जग्गा खोज समिति गठन गरिएको थियो। समितिले जग्गा छनोट गरे पनि डीडीसी सार्ने तयारी नरोकिएको भन्दै स्थानीयले तालाबन्दी गरेका थिए। तालाबन्दी खुल्ने नखुल्ने भनेको अब डीडीसीको निर्णयमा निर्भर छ।
तपाईको प्रतिक्रिया