टेक्सास बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, ११ जना अझै बेपत्ता

काठमाडौं । अमेरिकाको मध्य टेक्सासमा गत शुक्रबार आएको आकस्मिक बाढीबाट ज्यान गुमाउनेको संख्या १०० नाघेको छ । अन्य थुप्रै व्यक्ति अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ ।
खोजी र उद्धार टोलीले काम जारी राखेको छ । थप वर्षा र आँधीले यस क्षेत्रलाई खतरामा पारेको समाचारमा उल्लेख छ ।
क्रिस्चियन बालिकाको ग्रीष्मकालीन शिविर क्याम्प मिस्टिकले कम्तीमा २७ बालिका र कर्मचारीको मृत्यु भएको पुष्टि गरेको छ । दश बालिका र एक शिविर सल्लाहकार अझै बेपत्ता छन् ।
उनीहरू जीवित भेटिने सम्भावना न्यून रहेको अधिकारीहरूले बताएका छन् ।
यसैबीच, ह्वाइट हाउसले राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) मा बजेट कटौतीले विपद् प्रतिक्रियालाई बाधा पुर्याएको हुन सक्ने दाबीलाई अस्वीकार गरेको छ ।
मृतकमध्ये ५६ वयस्क र २८ बालबालिकासहित कम्तीमा ८४ जना केर काउन्टीका छन् ।
गत शुक्रबार बिहान सार्वजनिक बिदाको दिन भारी वर्षाका कारण ग्वाडालुप नदीमा बाढी आएको थियो । काउन्टी प्रहरीको कार्यालयका अनुसार, २२ वयस्क र १० बालबालिकाको अझै पहिचान हुन बाँकी छ ।
तपाईको प्रतिक्रिया