कोपेनहेगनमा ‘सेभेन ए साईड’ उपाधी बेलाहोए क्लासिक ‘ए’ लाई

बुधबार असार २५, २०८२/ Wednesday 07-09-25
Paschim Today

कोपेनहेगन, ८ जुलाई ।

हिमालयन स्पोर्ट्स क्लबले आयोजना गरेको प्रथम हिमालयन ‘सेभेन ए साईड’ फुटबल प्रतियोगिता २०२५ को उपाधी बेलाहोए क्लासिक ‘ए’ ले जितेको छ ।

डेनमार्कको कोपेनहेगनमा आयोजित प्रतियोगिताको फाईनल खेलमा हिमालयन स्पोर्टस क्लव ‘ब्ल्याक’ लाई शुन्यका विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै बेलाहोए क्लासिक ‘ए’ ले उपाधी हात पारेको हो । आयोजक हिमालयन स्पोर्टस क्लव ‘ब्ल्याक’ उपविजेताले उपबिजेतामै चित्त बुझाउनु पर्यो । 

राजधानी कोपनहेगन डेनमार्कको टिङब्यर्ग खेल परिसरमा सम्पन्न प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो । गोलाप्रथा द्वारा चार समुहमा बिभाजन गरी खेलाइएको समूह चरणको खेलबाट एफसी राईजिङ स्टार ‘एस’, हिमालयन स्पोर्टस क्लव ‘ब्ल्याक’, एसएफई काभ्रे युनाईटेड एएफसी, हिमालयन स्पोर्टस क्लव ‘ह्वाईट’ बेलाहोए क्लासिक ‘ए’, ब्रदरहुड एफएसी र अन्नपूर्ण ‘एक्स’ क्वार्टर फाईनल चरणमा पुग्न सफल भएका थिए।

फाइनलका दुई प्रतिस्पर्धीहरु बीच समूह चरणमा पनि भेट भएको थियो । उक्त खेल बराबरीमा सकिएको थियॊ। प्रतियोगिताको सबैभन्दा रोमान्चक खेल ब्रदरहुड एफएसी र अन्नपूर्ण ‘एक्स’ बीच भएको थियॊ । थप गरिएको समयभित्र पनि कुनै पक्षले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउट चरणमा खेल पुग्यो । पेनाल्टी सुट आउटमा भने ब्रदरहुड एफएसीले (७-६) ले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो। सेमी फाइनलमा आयोजकका दुई टिम हिमालयन स्पोर्टस क्लव ‘ह्वाईट’ र हिमालयन स्पोर्टस क्लव ‘ब्ल्याक’ बीच प्रतिस्पर्धा भएको थियो ।

विजेता टिमले १५ हजार डेनिस क्रोनर नगद सहित ट्रफी प्राप्त गर्यो । उपविजेता टिमले सात हजार डेनिस क्रोनर नगद सहित ट्रफी प्राप्त गर्यो। प्रतियोगितामा हिमालयन स्पोर्टस क्लवका साश्वत रानाले उत्कृष्ट खेलाडी भए । बेलाहोए क्लासिक ‘ए’का अनिश चौधरीले टप स्कोरर को उपाधी हात पारे । बेलाहोए क्लासिक ‘ए’का राम राउत उत्कृष्ट गोलकिपर भए । बिभिन्न बिधामा उत्कृष्ट घोषणा गरिएका खेलाडीहरूलाई ट्रफी प्रदान गरिएको थियो।

विजेता टीम र उत्कृष्ट खेलाडीहरुलाई उपाधी प्रदान गर्दै प्रमुख अतिथि राजदूत सुम्निमा तुलाधरले खेलकुद प्रतियोगिता आयोजनाले प्रवासमा नेपाली समुदायबीच भाइचारा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रतियोगिता आयोजनाका लागि हिमालयन स्पोर्टस क्लवलाई धन्यवाद दिईन् ।

हिमालयन क्लवका अध्यक्ष दिपेन्द्र बिष्टले कार्यक्रममा सहभागी भएकोमा राजदूत तुलाधर, अथितिहरु र प्रतियोगितासहभागी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्न सहयोगको अपेक्षा गर्नुभयो।

कोपनहेगन नगरपालिकाका नगर परिषद सदस्य हरि न्यौपानेले नेपालीहरुबीचको एकता र साथका कारण आफू नगर परिषदमा निर्वाचित भएको बताउदै अक्टोबरमा हुने नगर परिषद तथा क्षेत्रीय चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरे ।

प्रतियोगितामा नेपाली राजदुतावास डेनमार्कका राजदूत सुम्निमा तुलाधर, हिमालयन क्लबका अध्यक्ष दिपेन्द्र बिष्ट, संस्थापक अध्यक्ष बिबेक श्रीस राना , निवर्तमान अध्यक्ष सुवाशिष ओझा, कोपनहेगन नगरपालिकाका नगर परिषद सदस्य हरि न्यौपाने, गैर आवाशीय संघ डेनमार्कका अध्यक्ष कमलराज शर्मा, हिमालयन स्पोर्ट्स क्लबका अभिभाबक राम महर्जन, हिमालयन स्पोर्ट्स क्लबका क्रिकेट संयोजक कृष्ण चन्द लगायत विभिन्न क्लब, संघ–संस्था र सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।

फुटबल प्रतियोगिता आयोजना गरिएको खेल मैदानमा मःम, चिया लगायतका नेपाली परिकारका स्टलहरु पनि राखिएका थिए । जसको संयोजन लाई हिमालयन स्पोर्टस क्लवका महिला सदस्यहरुहरुले गरेको थिए ।

हिमालयन स्पोर्ट्स क्लबका अभिभाबक राम महर्जनले सम्पूर्ण स्वयमसेवकहरु र सहभागीहरुलाई खाजाको व्यवस्था गरेका थिए । गायक राजमान तामाङले प्रतियोगिता अन्तर्गत भएका खेलहरुका बारेमा विस्तृत जानकारी दिएका थिए । कार्यक्रमको समापनमा हिमालयन स्पोर्ट्स क्लबका संस्थापक अध्यक्ष बिबेक श्रीस रानालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

समापन कार्यक्रममा प्रतियोगिताका रेफ्री तथा सहयोगीहरुलाई मायाको चिनो प्रदान गरिएको थियॊ। हिमालयन क्लवका अध्यक्ष बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन फुटबल संयोजक शिव कार्कीले गरेका थिए ।

हिमालयन स्पोर्ट्स क्लबका फुटवल संयोजक शिव कार्कीले खेलका माध्यमबाट नेपाली समुदायबीच आपसी सद्भाव, सहयोग र सम्बन्धलाई बलियो बनाउने उद्देश्यले प्रतियोगता आयोजना गरिएको बताए । उनले आगामी वर्षदेखि नेपालीहरु बीच यूरोपियन स्तरीय खुल्ला फुटबल प्रतियोगिता सञ्चालन गरिने जानकारी दिए । 

यसअघि क्लबका संस्थापक अध्यक्ष बिबेक श्रीस राना र क्लबका अध्यक्ष दिपेन्द्र बिष्टले रेफ्रीलाई फुटबल हस्तान्तरण गरी बिहान ९:०० बजे उद्घाटन गरेका थिए । आयोजक हिमालयन स्पोर्टससंगको सहकार्यमा नेपाली ब्रदर्श कोपेनहेगनले प्रतियोगितालाई व्यवस्थित रुपमा सम्पन्न गर्न ठूलो संख्यामा स्वयंसेवक परिचालन गरेको थियो ।

सन् २००९ मा स्थापना भएको हिमालयन स्पोर्ट्स क्लबले सुपर सिक्स क्रिकेट प्रतियोगिताको छैटौं संस्करण आयोजना गरिसकेको भएपनि फुटबल प्रतियोगिता पहिलो पटक आयोजना गरेको हो।