सुदन किरातीको टिप्पणी- मन्त्रीको घुस काण्डले सरकारको छातीमा कुशासनको तक्मा थपियो

आइतबार असार २९, २०८२/ Sunday 07-13-25
Paschim Today

काठ्माण्डौँ- नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस काण्डको अडियो बाहिरिएको भन्दै सुशासनको लागि भन्दै बनेको सरकारको छातीमा फेरि कुशासनको तक्मा थपिएको टिप्पणी गरेका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले देशको छविमाथि अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर प्रश्न उठेको भन्दै उनले यसबारे सरकारको तर्फबाट संसद्लाई जानकारी गराइनुपर्ने बताएका हुन् ।

उनले भने, ‘सामान्य प्रशासन र भूमिसुधारमन्त्रीको बारेमा सर्वत्र मिडियामा आएको कुरा के हो ? मलाई राम्रोसँग स्मरण छ यही उभिएर सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा । म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न । यो जुनीमा त के अर्को जुनीमा पनि चित्र गुप्ताको अगाडि उभिएर जवाफ दिन्छु । हामीलाई अर्को जुनी र चित्र गुप्ताको विश्वास छैन । त्यसैले सरकारको तर्फबाट यो सार्वभौमिक संसदलाई सत्य तथ्य जवाफ चाहियो ।’

उनले स्पेनमा आयोजित प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रमको नाममा भएको मानव तस्करी छानबिनको माग गरेका छन् ।  उनले उक्त विषयमा सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गरे ।