मन्त्रीबाट राजीनामा दिएपछि गुप्ताले भने– नखाएको विष लाग्यो

मंगलबार असार ३१, २०८२/ Tuesday 07-15-25
Paschim Today

काठमाडौं । घुस डिल प्रकरणमा विवादित बनेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । अडियो सार्वजनिक भएपछि विवादमा तानिएका गुप्ताले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीको सचिवालयलाई राजीनामा बुझाएका हुन् ।

राजीनामा दिएपछि गुप्ताले घुस डिलको विषय उल्लेख गर्दै नखाएको विष लागेको दाबी गरेका छन् ।

‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको सिकार भएँ,’ गुप्ताले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा गरेको छु ।’

उनले प्रविधिको प्रयोग गरेर आफूलाई फसाइएको दाबी पनि गरेका छन् ।

‘प्रविधिको उच्चतम प्रयोगको सिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्नरूपले आफूलाई सहयोग गर्नुहुनेहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ गुप्ताले भनेका छन्, ‘अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठा को साथ पूरा गर्ने प्रतिवद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’

एमालेका केन्द्रीय सदस्य एवं सांसदसमेत रहेका गुप्ता मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादित बनेका थिए ।