नेप्सेमा उछाल, वर्षकै उच्च कारोबार

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ सुरू भएको पहिलो दिनमै नेप्से परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ।
नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७० विन्दुमा पुगेको छ। कारोबार रकम पनि करिब एक वर्षयताकै उच्च भएको छ। नेप्से गत फागुन १९ गते यताको उच्च हो। फागुन १९ मा नेप्से २८७६ विन्दुमा थियो।
बिहीबार बजारमा १६ अर्ब ५९ करोड रूपैयाँको कारोबार भएको छ। यसअघि २०८१ भदौ ११ मा १८ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएको थियो। त्यसयता कारोबार रकम १६ अर्ब ५९ करोड कट्न सकेको थिएन।
कारोबार रकम यो अघिल्लो दिन अर्थात् बुधबारकाे तुलनामा १८ प्रतिशतले धेरै हो। बुधबार बजारमा १४ अर्ब तीन करोड रूपैयाँको सेयर कारोबार भएको थियो।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बढाएको सेयर धितो कर्जाको एकल ग्राहक सीमा लगायतका व्यवस्था आजैबाट लागु भएको, बैंकहरूको ब्याजदर घटेको लगायतका कारणले बजारमा सकारात्मक प्रभाव परेको हो।
सेयर धितो कर्जाको एकल ग्राहक सीमा १५ करोडबाट बढेर २५ करोड रूपैयाँ पुगेको छ।
कारोबारमा आएका सबै समूहगत परिसूचक बढेको छ। सबैभन्दा धेरै ‘अन्य’, लगानी, जीवन बीमा, हाइड्रोपावर, वित्त कम्पनी समूहगत परिसूचकमा सुधार भएको हो। यी समूहमा तीनदेखि पाँच प्रतिशतसम्म वृद्धि भएको छ।
यस दिन पाँच कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ। ट्रेड टावर, सुभम पावर, थ्री स्टार हाइड्रो, इष्टर्न र बाराही हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरैले बढेको हो।
हालै सूचीकृत भएको ट्रेड टावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ। कम्पनीको चार सय दुई रूपैयाँमा कारोबार भइरहेको छ।
तीन सय ११ कम्पनीको सेयर कारोबार भएकोमा दुई सय ६८ वटाको मूल्य बढेको छ भने ३४ वटाको मूल्य घटेको छ। ‘अन्य’ समूहमा सूचीकृत नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ८४ करोड रूपैयाँको कारोबार भएको छ।
तपाईको प्रतिक्रिया