नेपालीका दुःख

नेपालीका खुशी र दुःखका कारण अनेक छन् । दीपक साँउदको हिलोमा लडिबुडी गरेको भिडियोले पाँच करोड भ्यूज कटायो । सामाजिक सञ्जालमा खुशीको लहर छ । साँउदले नेपाली टोपीको अपमान गरे । आघात भयो । नेपाली दुःखी भए ।
यस्तो लाग्छ, नेपाली भित्र करुणा अटेसमटेस छ । बंगलादेशमा एक जनाको पाँच दिनपछि समुन्द्रबाट उद्दार भयो । सबैले भिडिओ शेयर गरे । तर आफ्नो छिमेकी अस्पतालमा आर्थिक अभावमा छटपटाईरहेको छ, उसलाई भेट्न जान हामीलाई फुर्सद छैन । न त उस प्रति दयाभाव छ ।
राजनीतिमा युवाको खाँचो छ भन्छौ । विद्या भण्डारी राजनीतिमा फर्किदा ढोल पिट्छौ । भो देशका लागि अव धेरै कष्ट नगरौ । किन सल्लाह दिएनन् कसैले ?
युवाको नाडी छामेका नयाँ भनिएकाहरु परम्परागत दललाई सत्तोसराप गरेर भ्यूज बटुल्नमा व्यस्त छन् । विकासको खाका के छन् ? रोजगारीका अवसर कसरी सृजना गर्ने ? अर्थतन्त्र चलायमान बनाउने तरिका के हुन् ? योजना छैनन् । दैनिक २३ सय भन्दा बढि युवा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश गईरहेको दृष्यले कसैलाई बिझाउँदैन । खुला नाकाबाट भारत छिर्नेको संख्याको हिसाव कसले गरोस ?
बुर्किनाफासोमा ३७ वर्षीय ईब्राहिम तरारेको उदयमा खुशी छौ । यता सामाजिक सञ्जाललाई नियमन गर्ने कुराको बिरोध गर्छौ । स्वच्छन्दता नेपाल जस्तो चाहिने अनि तानाशाह बुर्किनाफासो जस्तो ? जसलाई भन्छन्, ननसेन्स राईम्स ।
एलिना चौहानले के भनिन् ? विष्णु सापकोटा किन मौन छन् ? समाज त्यसमा बाडिएको छ । युट्युबको मसला बनेको मान्छेको निजी जीवन । सुनिता बिलियम्स अन्तरिक्षमा पुगेको कुरामा हर्ष बढाई गर्छौ । मानौ, हाम्रै चेली पुगेकी हुन् । यता एलिनालाई मुखाले भएको टिप्पणी गर्छौ । उनका आँशुलाई ट्रोल बनाउछौ ।
फिल्म हेर्दा हामी भित्र पसेको रजनीकान्त हल बाहिर निस्किदा उत्रिसकेको हुन्छ । न आशा । न सपना । घर पुग्दा दुःखीराममा परिणत भईसक्छौ ।
पुरानालाई प्रश्न गर्नेहरु आफू भने प्रश्न गर्न नपाईने जमात खडा गर्दैछन् । साईवर सेनाका सेनापती महेश बस्नेत सबैभन्दा बढि सामाजिक सञ्जालबाट लखेटिएको कति चाँडो बिर्सिन्छौ । जे रोप्यो । फल्ने त्यही हो । सामाजिक सञ्जाललाई सियो बनाए, त्यसले जोड्ने हो । मुशल बनाए, आफ्नै टाउको बज्रिन्छ, बज्रिन्छ । कुरा ढिलो चाँडोको हो । त्यही सामाजिक सञ्जाल हो, रवि लामिछानेलाई बनाउने । र, यही सामाजिक सञ्जाल हो, उनको उछितो काढ्ने । यस्ता प्लटेफर्मलाई बिकृत बनाउने कि ? सदुपयोग गर्ने । आशा सञ्चार गर्ने कि ? भडास ? धैर्यताको लेवल छैन् । एकछिन पर्खन सक्दैनौ । फ्याट्ट कमेण्ट गर्छौ । सामाजिक सञ्जालको सामग्रीमा फ्याक्ट चेक गर्दैनौ ।
एमालेले अध्यक्षको उमेर हद हटायो । ७० नाघेपछि अध्यक्ष बन्ने सुविधा ओली समूहले पायो । तर देशले युवा हुन नपाउदै कर्णधारहरु किशोर वयमै गुमाईरहेको छ । कसलाई चिन्ता ? जुंगाको रेखी नबस्दै देश छोड्न खुट्टा उचालेको किशोरको मनोदशा बुझ्ने नेता नभए, हुने यही हो । ७० को बृद्ध सत्तामा । १७ को युवा खाडीमा ।
नमरुञ्जेल ओलीलाई अध्यक्षमा बोक्ने र आजीवन लामिछानेलाई बोक्छु भन्नेहरु नेता होईनन् । दास हुन् । जवसम्म गगन र विश्व प्रकाशहरु आफ्नो अनुकुलताका लागि नेतृत्वको आलोचना र प्रशंसा गरिरहन्छन् । काँग्रेसले भोग्ने नियति पनि एमालेभन्दा पृथक कसरी हुन सक्छ ?
भगवानको बिरोध गर्दा गर्दै आफै भगवान भएको घोषणा गर्नेहरुको नियति के भयो ? प्रचण्ड, रेशम, उपेन्द्र र राजेन्द्रहरु उदाहरण हुन् । नीति र नियत बेठिक भए राजनीति सङ्लो रहदैन । मुक्तिका नाममा गरिएका उपद्रवहरु सत्तामा पुग्दा सतकर्म गरेर बिर्साउने पर्ने थियो । बिगत छोडौ भने पनि कुबेर बन्ने लालसाले ती नेताहरुले आगत पनि धुमिल बनाई सके । जनताको मुक्ति र देशको विकासको नारा त सत्तामा पुग्ने भ¥याङ हुन् । सत्तामा पुगेपछि त्यो भ¥याङ, ‘खोलो त¥यो, लौरो बिस्र्यो’ बनाई दिए
१० वर्षको हिसाव खोज्न छोडिसक्यौ । गौर काण्ड माओवादीले रोपेको बिउँको फल थियो । अनाहकमा ज्यान गुमाए, जनताले ।
तीनकुनेबाट तितरवितर भएको राजतन्त्र फर्काउनेहरुको आन्दोलन घरभित्रको झगडाले उठ्नै नसक्ने गरी थला परेको छ । सबै मिलेर देश बनाए राजा चाहिदैन भन्ने ज्ञान विद्धानहरुलाई कसले देओस ।
‘हाम्रो तेञ्जिङ नोर्गेले चढ्यो हिमाल चुचुरा’ उत्सव गीत गाईरहदा नोर्गेले अर्कै देशको नागरिकता लिदा टुलुटुलु हेरिरह्यौ । यो हाम्रो नियति हो । सगरमाथा आरोहण गर्नेहरु कोलोराडोमा शिविर बनाएर किन बसे ? न हामीले खोज्यौ ? न सरकारले ? कहाँ छिन्, मिरा राई ? सरकारलाई खोज्ने फुर्सद छैन् । सत्ता आरोहणमा नेताहरु किर्तिमान कायम गरिरहदा देशका वास्तविक किर्तिमानीहरु भने चुपचाप पलायन भईरहेको तथ्यलाई बिर्सिने अनौठो रोग अल्जाईमर्स भन्दा भयानक छ ।
मन्त्रीहरुको अडियो काण्डले सरकारको सुशासनको जग्ग बेस्मारी हल्लाईदिएको छ । त्यसका पराकम्पले कति क्षति गर्ने हो ठेगान छैन् ।
नयाँ र स्वतन्त्र ठिक भन्ने मानसिकताले तानाशाह जन्माउदै त छैनौ ? पुरानाबाट जवाफदेहिता, पारदर्शिता, सुशासन खोजिरहदा नयाँका कृत्यहरु जायज कसरी हुन सक्छन् ? विकासका नाममा कि सबै कुरा विर्सिदिनु ? तिनले गर्दा भ्रष्टाचार नमानिने कसरी हुन सक्छ ? तिनले बिधि र पद्धति मान्नु नपर्ने हो भने किन चाहियो संविधान ? अझ पुराना ठिकलाई खुईल्याएर नयाँ मात्र ठिक ठान्ने प्रवृति घातक छ । ईन्द्रलाई तह लगाउन भष्मासुरको कामना सही हुन सक्दैन ।
उत्तेजना र आवेगले खरानी बनाउछ । महल होईन ।
बहुदलपछि सबै पञ्च काँग्रेस भए । काँग्रेसको हालत के भयो ? जग जाहेर छ । यतिबेला सबै उदण्ड र भ्रष्ट रास्वपा हुने लहर चलेको छ । र, नेतृत्व पनि रातो कार्पेट बिछ्याउन कञ्जुस्याई गरिरहेको छैन् । तिनको भारी के रास्वपाले थेग्न सक्ला ? आफैले भित्र्याएका अवसरवादीहरुबाट उपेन्द्र अल्पमतमा परेको ईतिहास पुरानो भईसकेको छैन् । माओवादी आन्दोलन यति बिघ्न बद्नाम हुदैनथ्यो । जसका विरुद्ध लडे, त्यही सामन्तीलाई नेता मान्नु पर्ने माओवादी कार्यकर्ताको नमिठो भोगाई हो ।
काँग्रेसका एक गृहमन्त्री थिए । जसले ‘टीओ’ बढाउन हुकुम दिए । र, प्रहरीले फुली र अवसरका लागि अनाहकमा निर्दोषहरु मार्न थाले । शुन्यमा रहेको माओवादी कहाँ पुग्यो ? त्यो ईतिहास साक्षी छ ।
दमनले प्रतिरोध जन्माउछ । प्रतिरोध बलियो हुदै गए सत्तामा बस्नेहरु अस्तित्वमै रहदैन । रवी होस वा अरु कुनै व्यक्ति, राज्यले प्रतिशोध साँध्न शक्तिको दुरुपयोग गर्न हुदैन । जनता चूप छन् । जनता जागेपछि के हुन्छ । ४६, ६३ कति चाँडो बिर्सिन सकेका ?
प्रवासमा एउटा संस्था थियो, एनआरएनए । थियो यसर्थ कि, अव त्यो हुनु र नहुनुको कुनै अर्थ छैन् । देश बनाउछु भन्नेहरु लडेर रमिता देखाईरहदा …..के जातीलाई लाज भन्ने भईसक्यो । कुरा तिनकै ठूला । दारुमा गरेको खर्च गाउँमा गरेको भए कति पाटी, पौवा र विद्यालय बन्थे होलान् । अधिबेशनमा तिनलाई भूईबाट कसले उठाईदेओस । देश तिनैले बनाउछन् भनेर पत्याईरह्यौ, हामी ।
मिल्न नसकेर फुटेकाहरु एकीकृत समाजवादी कहलिने देशमा बामदेव र माधवको मिलापका समाचारहरु बे्रकिङ बन्नु स्वाभाविक नै हो ।
शेखर, विद्या र प्रचण्डहरु एक ठाउँमा भेला भएपछि अमरेशले सान्त्वना दिने नै भए । उपेन्द्रलाई किन छुटाए होलान भेलामा ? त्यो बुद्धि कहाँ गएछ । देश बनाउन एक ठाउँमा को जम्मा भएको छ ? पानीको माछा बाहिर बस्न सक्छ । सत्ता बाहिर बस्न सक्ने नेता यो देशले उहिल्यै जन्माउन छोडेको हो कि लाग्छ । सत्तामा हिस्सेदारी भए कसलाई छटपटी भएको छ र ?
आशा जगाउने अखवारका हेडलाईनहरु छैनन् । टेलिभिजनका समाचारहरुले पुरै दिन निराश बनाउछ । युवा पलायन हुदैछन् । व्यवसायी धराशायी । सत्तामा ७० कटेका । कहाँबाट बनोस देश ।
दलभित्रका राम्राहरु । समाजभित्रका राम्राहरु । एक ठाउँमा उभिन ढिलो भईसक्यो । हाम्राहरु छोडेर राम्राहरुलाई निर्वाचित गरेनौ भने ८४ पछि पछुताउने समय पनि पाउने छैनौ ।
तपाईको प्रतिक्रिया