नाउपामा नयाँ बखेडा : संसदीय दलको बैठकबाट पार्टीको बैठक आह्वान, रन्जिता भन्छिन्–यो आधिकारिक होइन

मंगलबार श्रावण ७, २०८२/ Tuesday 07-22-25
Paschim Today

कैलाली । नागरिक उन्मुक्ति पार्टीको गत शनिवार संसदीय दलको कार्यालयमा बसेको बैठकले दुई निर्णय गर्‍यो । पहिलो संसदीय दलको विधान संशोधन गर्ने र दोस्रो पार्टी केन्द्रीय समितिको बैठक बोलाउने । दोस्रो निर्णयले पार्टीमा बखेडा सिर्जना गरेको छ ।

संसदीय दलको बैठकले आगामी ९ र १० गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो ।

‘वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै पार्टीमा उत्पन्न भएको समस्यालाई निराकरणको लागि व्यापक छलफल गर्न आवश्यक भएको हुँदा २०८२ साल श्रावण महिना ९ र १० गते शुक्रवार र शनिवारका दिन सनलाईन क्याफे मीड बानेश्वरमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरियो,’ संसदीय दलको बैठकले गरेको निर्णयमा उल्लेख गरिएको छ ।

उक्त बैठकमा संसदीय दलका नेता गङ्गाराम चौधरी, प्रमुख सचेतक लालवीर चौधरी र सचेतक अरुण चौधरी उपस्थित थिए । तर पार्टी अध्यक्ष समेत रहेकी रन्जिता चौधरीको हस्ताक्षर भने निर्णयमा छैन ।

‘मलाई संसदीय दलको बैठकबारे खबर भएको थियो तर, अर्को आकस्मिक र महत्त्वपूर्ण कामले गर्दा म त्यहाँ जान पाइन,’ उनले भनिन् ।

पार्टी महासचिवको हवाला दिँदै संसदीय दलका नेता गङ्गा चौधरीले शनिवार नै सबै केन्द्रीय सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुने सम्बन्धमा भन्दै पत्र काटिसकेका छन् ।

‘नागरिक उन्मुक्ति पार्टीको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय भेला, विधान संशोधन सम्मेलन, पदाधिकारी थपघट, केन्द्रीय सदस्य तथा अन्य विभागको सदस्यहरू चयन तथा पार्टीमा उत्पन्न भएको समस्या निवारणका लागि केन्द्रीय समितिको बैठक बोलाइएको हुँदा यहाँको अनिवार्य उपस्थितिको लागि अनुरोध गरिन्छ,’ चौधरीको हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

शनिवार बसेको संसदीय दलको बैठकले गरेको निर्णय अनुसार भन्दै उनले सबै केन्द्रीय सदस्यहरूलाई बैठकमा उपस्थित हुन पत्र काटेका हुन् । निर्वाचन आयोगमा रहेको तथ्याङ्क अनुसार नाउपामा २१ सदस्यीय केन्द्रीय समिति छ । उक्त विवरणले महासचिवका रूपमा गङ्गा चौधरीलाई चिन्दैन । उनलाई पहिलो केन्द्रीय महाधिवेशनले महासचिवको रूपमा निर्वाचित गराएको थियो । जुन निर्वाचन आयोगले मान्यता दिएन ।

संसदीय दलले पार्टीको बैठक बोलाएको भन्दै व्यापक आलोचना भइरहेको छ । नाउपाका पुराना नेता सुरेन्द्र चौधरीले यसलाई ‘कहीँ नभाको जात्रा हाँडी गाउँमा’ भन्दै टिप्पणी गरेका छन् ।

‘संसदीय दलको नेताले केन्द्रीय समितिको बैठक बोलाउन मिल्छ रु पार्टीको विधानअनुसार केन्द्रीय समितिको बैठक अध्यक्षको निर्देशनमा महासचिवले बोलाउने हो । को हो महासचिव ? गङ्गारामजी लाई महासचिव मान्ने हो भने वहाँको नाम महासचिवको रूपमा निर्वाचन आयोगमा अद्यावधिक छैन,’ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षको निर्देशनमा बैठक बोलाउने हो भने उपाध्यक्ष र महासचिव दुइटैको नाम निर्वाचन आयोगमा अद्यावधिक छैन।झ

नाउपा अध्यक्ष रन्जिता चौधरीले पनि गङ्गा चौधरीले बोलाएको बोलाएको बैठक आधिकारिक नभएको जानकारी दिइन् ।

‘केन्द्रीय कमिटीको बैठक अध्यक्षले आह्वान गर्ने विषय हाम्रो विधानमै उल्लेख गरिएको छ । विधानभन्दा बाहिर गएर आह्वान गरिएको बैठक आधिकारिक होइन,’ उनले भनिन्, ‘यो बैठकले गरेको कुनै पनि निर्णय आधिकारिक होइनन्।’

नाउपाको विधानले पनि बैठक बोलाउने अधिकार हरेक कमिटीको अध्यक्षलाई दिएको छ । अध्यक्षको निर्देशनमा महासचिवले वा सचिवले बैठक बोलाउने व्यवस्था छ ।

अध्यक्षको अधिकार र कर्तव्यमा राष्ट्रिय महाधिवेशन, राष्ट्रिय भेला, केन्द्रीय कमिटी, सचिवालय कमिटीको बैठकको अध्यक्षता गर्ने उल्लेख गरिएको छ ।

‘मैले अध्यक्षता ग्रहण नगरेको बैठक आधिकारिक हुँदैन, मैले आह्वान नगरेको बैठकको अध्यक्षता मैले गर्ने कुरै भएन’ उनले भनिन्, ‘त्यो बैठक आधिकारिक होइन । ’

राष्ट्रिय भेलाको पनि तयारी गर्ने गरी आह्वान गरिएको बैठकमा पदाधिकारी थपघट गर्नेसम्मको छलफल हुने बताइएको छ । स्रोतका अनुसार अध्यक्ष श्रेष्ठको अनुपस्थितिमा केन्द्रीय समिति बैठक आह्वान गरेर उनलाई जिम्मेवारी मुक्त गर्ने सम्मको निर्णय हुन सक्छ ।

अध्यक्षले नै अवैधानिक भनेपछि बैठकमा २१ जना मध्ये अधिकांश उपस्थित नहुने बताएका छन् । उपस्थित भएर गरिएको निर्णयमा पनि वैधानिकताको प्रश्न उठ्ने निश्चित जस्तै छ।

अध्यक्षलाई हटाउने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो रु भन्ने विषयमा प्रश्न गर्न महासचिव चौधरीलाई पटक पटक फोन गर्दा उनको फोन उठेन ।