‘परपुरुषसँगको सम्बन्धकै कारण श्रीमान्को हत्या’
.2025-07-22-02-35-42.jpeg)
कञ्चनपुर : लालझाडी गाउँपालिका–४ सिगलपट्टीका रामरेशर रानाको हत्या भएको खुलासा भएको छ । जिल्ला प्रहरी कञ्चनपुरका अनुसार मृतक रानाकी श्रीमतीको परपुरुषसँगको सम्बन्धका कारण हत्या भएको हो ।
वैशाख १७ मा राना घरनजिकै मृत अवस्थामा भेटिएका थिए । भारत उत्तराखण्डको चम्पावतमा ज्याला मजदुरीको काम गर्ने राना घटना हुनुभन्दा १५ दिनअघि मात्रै घर फर्केका थिए । जिल्ला प्रहरीले सोमबार घटना विवरण सार्वजनिक गरेको हो ।
जिल्ला अदालत कञ्चनपुरले असार २६ मा बेलौरी नगरपालिका–४ का पुन्ना रानालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ भने मृतककी श्रीमती माया चौधरी र उनकी छिमेकी मानमती चौधरीलाई एक/एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि धरौटी बुझाउन नसकेर उनीहरू कारागार चलान भएका छन् ।
‘घटना मृतककी श्रीमतीको अनैतिक सम्बन्धका कारण भएको देखिएको छ,’ जिल्ला प्रहरीका एसपी खडकबहादुर खत्रीले भने, ‘मृतकका आफन्तले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त कुरा खुलेको हो ।’ उनका अनुसार मृतकका आफन्तले पुन्नासँगै माया र मानमतीका नाममा किटानी जाहेरी दिएका थिए ।
प्रहरीका अनुसार बेलौरी–४ का राना ट्रयाक्टरमा लोड अनलोडको काम गर्थे । बेलौरीबाट बालुवा लिन लालभाडी हुँदै कृष्णपुर नगगरपालिकाको वाणीसम्म आउजाउ गरिरहन्थे । त्यही क्रममा २०८१ मा रानाको मृतककी श्रीमती मायासँग भेट भयो । फोन नम्बर पनि साटासाट भयो । त्यसपछि उनीहरूबीच नियमित रूपमा फोनमा र प्रत्यक्ष भेटघाट भइरहन्थ्यो ।
आरोपित पुन्नाले प्रहरीसमक्ष दिएको बयान अनुसार २०८१ चैततिर पुन्नाको भेट मायाकी छिमेकी मानमतीसँग पनि बेलौरीमै भयो । उनीसँग पनि नियमित रूपमा भेटघाट हुन थाल्यो । रानाले मानमतीलाई आफूले प्रयोग गरिरहेको सिमकार्ड पनि दिए ।
वैशाख १६ गते पुन्ना बेलौरीबाट मानमतीको घर हुँदै राति मायाको घरमा पुगे । रामरेशर र मायाका स–साना दुई छोरी र एक छोरा छन् । मायाका श्रीमान् कामका लागि दिपायल गएको थाहा पाएपछि पुन्नाले राति त्यहीँ बस्ने निधो गरे । केहीबेरमा मायाका श्रीमान् रामरेशर घरमा पुगे । उनले ढोका ढक्ढक्याउँदा मायाले खोलिन् । त्यसपछि रामरेशर र मायाबीच झगडा हुन थाल्यो । दुवैले एकअर्कालाई हातपात गर्न थाले, त्यसैबीचमा पुन्नाले बाँसको चिर्पटले रामरेशरमाथि प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीसमक्ष बयान दिएका छन् । त्यसपछि माया, मानमती र पुन्ना मिलेर शवलाई सडक छेउमै फालेको पुन्नाले बयान दिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया