कसैले चाहँदैमा हाम्रो पार्टीको अस्तित्व मेटिँदैन : अध्यक्ष नेपाल

बुधबार श्रावण ८, २०८२/ Wednesday 07-23-25
Paschim Today

कीर्तिपुर : एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको अस्तित्व कसैले चाहँदैमा समाप्त नहुने स्पष्ट पारेका छन्।

पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज कीर्तिपुर नगरपालिका-४ स्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले समाजवाद प्राप्तिको आन्दोलनमा पुष्पलालको विचार र प्रेरणालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए।

‘पुष्पलालले तत्कालीन सामाजिक परिस्थितिको यथार्थ विश्लेषण गर्नुभएको थियो। मैले पनि एमालेको नेतृत्व गर्दा त्यही विश्लेषणका आधारमा गणतन्त्रमा जाने निर्णय गरेँ,’ उनले भने, ‘त्यसबेला त्यो निर्णयको आलोचना गर्नेहरू थिए। तर परिस्थितिलाई सही ढंगले बुझ्नुपर्छ, निराशा फैलाउनु हुँदैन।’

कार्यक्रममा बोल्दै पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजतन्त्रको अन्त्यसँगै मुलुकमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको भए पनि अहिले दलाल नोकरशाही पुँजीवाद हाबी भएको टिप्पणी गरे।

यस्तै, नेता वामदेव गौतमले नेपाली कम्युनिष्ट आन्दोलनका उपलब्धि पुष्पलालको योगदानकै जगमा आधारित रहेको बताए। आफू एकीकृत समाजवादीसँग एकता गरेर कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको उल्लेख गर्दै उनले पार्टी नेतृत्वलाई समय सापेक्ष जिम्मेवारी दिन आग्रह पनि गरे।