एक भारतीय सन्त, जो प्रत्येक वर्ष पूजा गर्न डोटीको शैलेश्वरी पुग्छन्

डोटी । डोटीको सिलगढीमा अवस्थित प्रशिद्ध धार्मिक एवं पर्यटकीय स्थल शैलेश्वरी मन्दिरमा अचेल भिडभाड छ । नेपाली र भारतीय भक्तजनहरुले मन्दिरको नियमित दर्शन गर्दैछन् । मन्दिर परिसरमा नियमित हवन, रुद्री÷चण्डी पाठ, किर्तन, नित्य पुजासंग भण्डारा चलिरहेको छ ।
भारतको पलियाका सन्त श्रीकुल उपासक गोविन्द माधव मिश्रले मन्दिरमा पूजापाठ र भण्डारा आयोजना गरेपछि चहल पलह बढेको हो । पलियाको श्रीकुल पीठका पिठाधीश्वर समेत रहेका मिश्र विगत १२ वर्षदेखि प्रत्येक वर्ष साउनमा शैलेश्वरीको दर्शन एवं पुजाआजा गर्न आउने गर्छन् ।
‘सन २०१३ मा मैले पहिलो पटक शैलेश्वरीको दर्शन गरेको थिएँ, उक्त दर्शनबाट मलाई निकै आनन्द आयो’, मिश्र भन्छन् ‘त्यसपछि माता शैलेश्वरीले मलाई प्रत्येक बर्ष सेवा गर्ने अवसर दिईरहनु भएको छ ।’
सुरुसुरुमा दुई चार जनासँग आएर पुजापाठ मात्रै गरेर फर्किने मिश्र विगत ५ वर्षदेखि नियमित रुपमा भण्डारा समेत लगाउँदै आएका छन् । उनले यस बर्ष ७ दिनसम्म भण्डारा चल्ने बताए ।
‘७ दिनसम्म नित्य पुजा, किर्तन, रुद्री पाठ, हवन र भण्डारा नियमित चल्नेछ’ कुरा गर्दै मिश्रले भने, ‘यो अवधीमा एक हजार भन्दा बढी भारतीय भक्तजनहरुले शैलेश्वरी माताको दर्शन गर्नेछन् ।’ उनले शक्तिस्वरुपा शैलेश्वरी माताको मन्दिरको दर्शन गर्दा हरेक भक्तको मनोकामना पूर्ण हुने बताए ।
आफूले भारतमा यस मन्दिरको प्रचार गर्दै आएको र प्रत्येक बर्ष मन्दिर दर्शन गर्ने भारतीय नागरिकहरुको संख्या बढ्दै गएको दावी गर्दै मिश्रले मन्दिरको भौतिक पूर्वाधार व्यवस्थानका लागि सम्वन्धित निकायले ध्यान दिनु पर्ने बताए ।
‘भण्डारामा भोजन गर्ने भक्तजनहरुलाई बस्ने व्यवस्था, फर्निचरको, प्रवचन सुन्ने ठाउँको व्यवस्था र शौचालयको उचित व्यवस्था हुने हो भने पर्यटकहरु आफै आउँछन्’ मिश्रले भने, ‘त्यसका साथसाथै सिमानाका र चेकपोष्टहरुमा भारतीय नागरिकको आउजाउलाई अलि सहज वनाउन सके अझ राम्रो हुने थियो ।’
मन्दिरको विषयमा व्यापक प्रचार प्रसार गर्नु पर्ने मिश्रसंगै शैलेश्वरी पुगेका भारतीय पत्रकारहरु वताउँछन् । नेपाल-भारत पत्रकार संघका उपाध्यक्ष एवं प्राईम ईण्डिया टिभिका पलिया जिल्ला प्रतिनिधि विवेक कुमार पाण्डे भन्छन् ‘शैलेश्वरी लगायतका धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि नेपाल र भारतका पत्रकारहरुले संयुक्त रुपमा कलम चलाउनु जरुरी छ ।’
भारतबाट आएर प्रत्येक बर्ष भण्डारा सहितको पुजापाठ गर्ने गरेकोप्रति शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले मिश्रको टोलीलाई धन्यवाद दिए । उनले समितिको तर्फबाट मिश्रको टोलीलाई अभिनन्दन् समेत गरेका छन् ।
भट्टले मन्दिरको गरिमा र महिमाको बिषयमा भारतमा थप प्रचार प्रचार गरिदिन भारतीय पत्रकारहरुलाई आग्रह समेत गरे । ‘हामी करिब डेढ बर्षपछि मन्दिरमा कोटीहोम महायज्ञ आयोजना गर्दैछौं, त्यसका लागि हामी तयारी थाल्दैछौं’ भट्टले भने ‘तपाईहरुलाई आजैदेखि निम्ता छ ।’
मन्दिरको भौतिक पूर्वाधारका लागि तीनवटै तहका सरकारहरुले सहयोग गर्नु पर्ने वताउँछन् जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा । ‘मन्दिरको दर्शन गर्न आउने भक्तजनहरुको संख्या बढ्दै छ, सोही अनुसार भौतिक पूर्वाधारहरु पनि थप्नु जरुरी छ’, ओझाले भने, ‘यसका लागि हामी सवैले आ–आफ्नो ठाउँबाट योगदान दिनु पर्छ ।’
सपनामा देखेपछि शैलेश्वरी मन्दिर खोज्दै आएका थिए मिश्र
शैलेश्वरीप्रति भक्ति बढ्नुमा रमाईलो प्रसंग सुनाउँछन् श्रीकुल उपासक मिश्र । उनी भन्छन् ‘राती सपनामा पहाडमा माता शैलेश्वरीको मन्दिर हवन गर्न लागेको देखेँ । त्यसपछि मलाई यस मन्दिरको बिषयमा जान्न मन लाग्यो । मैले नेपालमा भएका साथीहरुसंग सम्पर्क गरेर यस मन्दिरको बिषयमा जानकारी लिएपछि एक पटक दर्शन गर्न आतुर भएँ ।’
पहिलो पटक पलियाबाट मोटरसाईकलमै दर्शन गर्न आएको उनी वताउँछन् । एक पटक दर्शन गरेपछि पटकपटक दर्शन गर्ने रहर लाग्ने र यस क्षेत्रमा आईसकेपछि आनन्दानुभूति हुने गरेको उनी बताउँछन् ।
तपाईको प्रतिक्रिया