पुष्पलाल स्मृति दिवसमा कैलालीमा वृक्षारोपण

धनगढी, असार ३२ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ स्थित राजकुला सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
प्रेस चौतारी नेपाल, कैलालीको आयोजनामा तथा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको समन्वयमा आयोजित उक्त कार्यक्रममा फलफूल र छायाँ दिने बिरुवा—जसमा अमला, निम लगायतका प्रजातिहरू—रोपिएको थियो। कार्यक्रममा प्रेस चौतारीका सदस्य, नेकपा एमालेका कार्यकर्ता, बर्दगोरिया गाउँपालिकाका जनप्रतिनिधि, स्थानीयवासी तथा वातावरणप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रेस चौतारी सुदूरपश्चिम प्रदेश इन्चार्ज दिलबहादुर छत्यालले पत्रकारहरूले समाजमा हित हुने कार्यमा पनि सक्रिय भूमिका खेल्न थालेकोमा खुसी व्यक्त गरे। उनले पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै यस्ता कार्यक्रम सकारात्मक र प्रेरणादायी रहेको उल्लेख गरे।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण कुँवरले गाउँपालिकामा नै वृक्षारोपण कार्यक्रम सञ्चालन गरेकोमा प्रेस चौतारीलाई धन्यवाद दिएका थिए। उनले विकाससँगै वातावरण र मानवीय पक्षको सन्तुलित विकासको आवश्यकतामा जोड दिए। गाउँपालिकाले सञ्चालन गरिरहेका निःशुल्क शववाहनदेखि दाहसंस्कार खर्चका कार्यक्रमहरूबारे पनि उनले जानकारी गराए।
नेकपा एमाले कैलाली अध्यक्ष यज्ञ ढुगानाले पुष्पलालले कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदान आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। उनले भने, "उहाँ हामीमध्ये शारीरिक रूपमा नभए पनि उहाँको विचार र योगदान आजको सन्दर्भमा अझ सशक्त रूपमा प्रस्तुत छ।"
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम सह–इन्चार्ज सुसिल ढुगाना, चाँदनी आचार्य, केन्द्रीय सामाजिक सञ्जाल विभाग प्रमुख कृष्ण ओली, कैलाली इन्चार्ज हरि जोशी, पूर्व सुदूरपश्चिम सह–इन्चार्ज गोविन्द रोस्यारा, पूर्व लेखा आयोग सदस्य लिला जंग शाहीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा प्रेस चौतारी नेपाल सुदूरपश्चिम महासचिव भानुभक्त आचार्यले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए भने कैलाली अध्यक्ष जनक सिंह बिष्टले धन्यवाद ज्ञापन गरेका थिए।
प्रेस चौतारी नेपाल, कैलालीका सचिव दिनेश बिष्टले पुष्पलालको योगदानको स्मरणसँगै वातावरणीय संरक्षणजस्ता कार्य समाज रूपान्तरणमा महत्वपूर्ण हुने भएकाले यस्ता कार्यक्रमको निरन्तरता दिइने जानकारी दिए।
तपाईको प्रतिक्रिया